दलहरू बिहान उम्मेदवारी दर्ता गर्न गएनन्, समय सकिएपछि भीडभाड

दलहरू बिहान उम्मेदवारी दर्ता गर्न गएनन्, समय सकिएपछि भीडभाड


असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचनको उम्मेदवारी दिने समय बुधबार साँझ पाँच बजे सकिएको छ। तर अधिकांश ठाउँमा अझै उम्मेदवारी दर्ता भीडभाड छ।

निर्वाचन आयोगले बुधबार बिहान १० देखि साँझ पाँच बजेसम्म प्रदेश नम्बरका २ का ८ जिल्लाका १३६ स्थानीय तहमा उम्मेदवारी दर्ताको समय तोकेको थियो। तर, दलहरू अन्तिम समयमा उम्मेदवारी दर्ता गर्न जाँदा धेरै ठाउँका मुख्य निर्वाचन अधिकृत कार्यालयमा अझै भीडभाड छ।

सप्तरीको राजविराज नगरपालिका मनोनयन दर्ता साँझ साढे बजेसम्म चल्न सक्ने मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले बताए। ‘साढे १२ बजेसम्म १/२ जना स्वतन्त्र उम्मेदवार आउनु भयो अन्य दलका उम्मेदवार अन्तिम समयमा पुग्नुभयो,’ कोइरालाले भने, ‘हाताभित्र आइसकेको सबैको उम्मेदवारी बुझ्नु पर्ने भएकाले समय सकिँदा पनि भीड छ।राति साढे आठ बजेसम्म सकिन्छ।’

महोत्तरीको जलेश्वरस्थित हाम्रा संवाददाता कमलेश मण्डलका अनुसार त्यहाँ पनि उम्मेदवारहरू अन्तिम समयमा मात्र उम्मेदवारी दर्ता गर्न पुगेपछि समय सकिए पनि अहिले निर्वाचन कार्यालयमा भीडभाड छ।

वीरगञ्जस्थित संवाददाता अनिल तिवारीका अनुसार वीरगञ्ज महानगरमा साँझ पाँच बजेसम्म प्रमुख दलले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराइसकेको छन्। तर वडाका उम्मेदवारको दर्ता साँझ साढे पाँच बजेसम्म पनि सकिएको छैन।

दलहरूले समयमै उम्मेदवार छान्न नसक्दा र बाजागाँजासहित मनोनयन दर्ता गर्न आउँदा ढिला भएको हो। कतिपय ठाउँमा प्रमुख दलहरूले मंगलबार साँझसम्म उम्मेदवार छान्न सकेका थिएनन्। सिरहाको सिरहा नगरपालिकामा उम्मेदवार छान्ने विषय बुधबार बिहान बसेको कांग्रेसको बैठकमा झडपसमेत भएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.