स्वेच्छचारी नियुक्तिहरू नरोके वर्तमान सरकारको विकल्प खोज्ने भीम रावलको चेतावनी

स्वेच्छचारी नियुक्तिहरू नरोके वर्तमान सरकारको विकल्प खोज्ने भीम रावलको चेतावनी


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले स्वेच्छचारी रूपमा प्रादेशिक प्रशासकहरू नियुक्ति गरिरहेको भन्दै उक्त नियुक्ति तत्काल नरोके एमालेले वर्तमान सरकारको विकल्प खोज्ने चेतावनी दिएका छन् ।

बुधबार राजधानीमा  अायोजित साक्षात्कारमा उपाध्यक्ष रावलले वर्तमान सरकारको म्याद चार महिना मात्रै बाँकी रहेको उल्लेख गर्दै भने,‘यो सरकारको म्याद अब चार महिनामात्रै बाँकी छ, तर अहिले प्रदेशहरूमा धमाधम प्रशासकहरू नियुक्ति गरिरहेको छ भन्ने कुरा आएको छ, त्यसको लागि हामीसँग कुनै परामर्श गरेको छैन्, यदि यसैगरि स्वेच्छचारी ढंगले नियुक्ति गरियो भने एमालेले प्रतिवाद गर्छ, हामी हदैसम्मको कदम चाल्न बाध्य हुनेछौं।’

साक्षात्कारमा बोल्दै उनले निर्वाचन मिति घोषणा भैसकेको र निर्वाचन आचारसंहिता समेत लागू भैसकेको अवस्थामा वर्तमान सरकारले सर्वोच्च अदालतको फैसलाविरुद्ध मनपरी र स्वेच्छचारी ढंगले कर्मचारीहरूलाई जथाभावी चलाउने काम गरेको आरोप लगाए । उनले भने,‘निर्वाचन आयोगकै सचिवलाई सरकारले तीन चोटी सरुवा गर्यो, अब यस्तो काम बन्द गरोस्।’

उनले संशोधन प्रस्ताव संसदमा असफल भएपछि पनि सरकारमा किन टाँसिएर बसेको होलान् भन्दै वर्तमान सरकारका प्रमुखको बारेमा प्रश्न उठाए ।

प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच  भएको चुनावी गठबन्धनप्रति टिप्पणी गर्दै रावलले भने,‘यो गठबन्धनको औचित्य के हो ? कुन नैतिकता र विचार वा सिद्धान्तका आधारमा उहाँहरुले गठबन्धन गर्नुभएको छ ? तर जनताले सबै कुरा राम्रोसँग बुझेका छन्, जनताले अब राष्ट्रिय हितमा आँच ल्याउनेहरुलाई कुनैपनि हालतमा मत हाल्ने छैनन्।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.