सरकारले आगामी कात्तिक मसान्त भित्र टेलिफोन सेवा सुधार नभए नेपाल टेलिकम प्रशासनलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकम डुबाउने काम टेलिकम भित्रकै कर्मचारीहरूबाटै भए, नभएको अनुगमन गरी कारबाही गर्न आफू लागि परेको पनि स्पष्ट पारे ।
उनले टेलिकम भित्रैबाट संस्थालाई डुबाउने काम हुने गरेको पाइए जो कोहीलाई पनि कारबाही गर्न आफू बाध्य हुनेपनि सचेत गराए । बुधबार नेपाल टेलिकमका प्राविधिकहरूको काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले टेलिकमको ठेक्का पट्टाको काम लिने तर नगर्ने कम्पनीहरूको सम्झौता रद्द गर्ने चेतावनी दिए ।
मन्त्री बस्नेतले कर्मचारीहरूले एक ढिक्का भएर निश्वार्थ भावका साथ काम गरे टेलिकम मुलुककै समृद्ध संस्था हुने र त्यसले मुलुकलाई आर्थिक रुपमा सबल बनाउने विश्वास पनि व्यक्त गरे । उनले केही कर्मचारी टेलिकम डुबाउने खेलमा लागि परेको आरोप लगाए ।