प्रमुख आयुक्त यादवले भने-पशुपतिनाथले चुनाव सफल पारून्

फाइल तस्बिर।


पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार छोड्ने बेला पत्रकार सम्मेलन गरे। उनले आफ्ना कुरा राखे अनि फटाफट निस्किहाले। आफ्ना कुरा राखिसकेपछि पत्रकारका प्रश्नको उत्तर दिन उनले आवश्यक ठानेनन्।

अहिले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि पूर्वराजा शाहको त्यही शैली पछ्याएका छन्।  आयोगले गर्ने पत्रकार सम्मेलनको प्रश्न-उत्तर सेसनमा बस्न उनको रुची देखिन्न।

मंगलबार पनि यादवले प्रदेश नम्बर २ को चुनाव तयारीबारे आयोग कार्यालय बहादुर भवनमा पत्रकार सम्मेलन गरे।

उनी मिडिया सेन्टरमा आए, आफ्नो लिखित मतव्य पढे। अनि ‘आज नो क्वेश्चन, धन्यवाद’ भन्दै निस्किए। आयोगमा गरिएको पत्रकार सम्मेलनमा यादवले पत्रकारको कुनै जिज्ञासा सुनेनन्।

पत्रकार सम्मेलनको दुई घन्टापछि आयोगले नै गरेको अन्तरक्रियामा भने पत्रकार सम्मेलनमा कहिल्यै आफ्ना प्रश्न नसुन्ने प्रमुख आयुक्त यादव पत्रकारले सोधे-ज्ञानेन्द्रको शाही घोषणाजस्तो घोषणा गर्न किन बोलाउनुहुन्छ? टेलिभिजनमा अनुहार देखाउने रहर हो कि के हो? पत्रकार सम्मेलन हो भने प्रश्नको किन सामना गर्नुहुन्न?

पत्रकारहरुले निर्वाचन आयोग पारदर्शी नभएको, कतिपय जिज्ञासा सम्बोधन नभएको भन्दै आलोचना गरे।

तर प्रमुख आयुक्त यादवले अन्तरक्रियापछि पनि आफ्नो शैली फेरेनन्।

‘ज्ञानेन्द्र शब्द प्रयोग गरेर लोकतन्त्र र पूर्वराजा ज्ञानेन्द्रको पनि बदनाम नगरिदिनुहोला’, यादवले भने, ‘लोकतन्त्रमा ज्ञानेन्द्र पनि हुन्छ। अन्यथा किन लिनुहुन्छ।’

पछिल्लो समय निर्वाचन आयोगले आयुक्तहरुका लागि झण्डै १५ करोडका गाडी खरिद प्रक्रिया अगाडि बढाएको छ।

आयोगसँग गाडी हुँदाहुँदै पनि नयाँ गाडी किन्न लागेको भनेर आयोगको आलोचना भयो। यही विषयमा विमति राख्दा आफ्नो सरूवा भएको  सचिव गोपीनाथ मैनालीको दाबी छ।

दुई चरणका स्थानीय तहको निर्वाचनमा ठूलो संख्यामा मत बदर भयो। मतदाता शिक्षामा गरिएको खर्चमाथि प्रश्न उठ्यो। आयोगले खर्चको विवरण सार्वजनिक गरेन।

त्यसपछि पनि आयोगले संघ र प्रदेशको निर्वाचन एक साथ गर्न जटिलता रहेको बतायो। तर केही समयपछि संघ र प्रदेशको निर्वाचन एकसाथ गर्न सहमत पनि भयो। आयोगले पहिला देखेका जटिलता के थिए भन्ने  कहिल्यै खुलाएन।

पत्रकारसँगको अन्तरक्रियामा प्रश्न उठेपछि पनि प्रमुख  आयुक्त यादवले आफूले यी तमाम विषयको जवाफ नदिएको स्वीकार गरेनन्। बरु मिडिया सेन्टर प्रभावकारी बनाउन नसक्नुको दोष भूकम्पलाई दिए। ‘शाखा र महाशाखाका कर्मचारी बस्ने ठाउँ छैन’, यादवले भने, ‘ भएका ठाउँमा पनि एयर कण्डिसन छैन। भूकम्पपीडित छौँ। एयर कन्डिसन नभएको कोठामा कर्मचारी बस्नै मान्दैनन्।’

उनले आफूले पत्रकार सम्मेलनमा बोल्दा प्रश्न उत्तरको समाचार लेखिने तर आयोगको आधिकारिक धारणा नआउने भएकाले प्रश्न उत्तर नगरिएको हलुका जवाफ दिए।

अन्तरक्रियामा एक पत्ररकारले सोधे- मंसिर १० मा निर्वाचन गर्न हिमाली जिल्लामा सहज छ? हिमपात हुनसक्छ?

यादवले जवाफ दिए- हामीले ४ गते प्रस्ताव गरेको हो। तर मौसम र भूगोल त सरकारलाई पनि थाहा छ। सांसदहरुलाई पनि थाहा छ। उहाँहरुले १० गतेको मिति दिनुभयो।

अन्त्यमा  उनले  चुनावको सफलताका लागि पशुपतिनाथ पुकारे। ‘त्यस्तो स्थिति नआओस् भगवान् पशुपति नाथले मौसम सफा राखुन्’, अन्तरक्रियामा यादवले भने।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.