तेस्रो चरणको स्थानीय निर्वाचनमा लागि उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिराहामा कांग्रेस कार्यकर्ताबीच बुधबार झडप भएको छ।
मनोनयनको दिनसम्म पनि उम्मेदवार टुंग्याउन नसकेको सिराहा कांग्रेसको बिहान बैठक बसेको थियो।
सिराहा बजारस्थित पार्टी कार्यालयमा बसेको बैठकमा दुई पक्षबीच विवाद चर्किएपछि कार्यकर्ताहरू हात हालाहालको अवस्थामा पुगेका थिए। ‘साढे ११ बजेतिर उहाँहरू पार्टी कार्यालयभित्र लड्न थाल्नुभयो, झगडामा ९ जना घाइते भएका छन्,’ सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले भने, ‘अहिले पनि उहाँहरूको बैठक जारी छ। थप घटना नहोस् भनेर प्रहरी पनि ठूलो संख्यामा पठाएका छौं।’
घाइते नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको कोइरालाले जानकारी दिए।
उपेन्द्र यादवले ४ वटा वडामा आफ्नो पक्षका उम्मेदवारलाई टिकेट दिन माग गरेका थिए। तर क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सञ्जय यादवले भने पुरै प्यानलमा आफ्नो पक्षका उम्मेदवार हुनुपर्ने जिकिर गरेका हुन्।
सञ्जय कांग्रेस कोषाध्यक्ष सितादेवी यादव निकट हुन्। सितादेवीका छोरा सुवास यादव सिराहा नगरपालिकामा मेयर पदका उम्मेदवार हुन्। जिल्ला सभापति रामचन्द्र यादवले कुरा मिलाउँदै गर्दा सञ्जय पक्षका मानिसले आक्रमण गर्न भएको थियो।
'उहाँ पार्टी कार्यालयमै हुनुहुन्थ्यो।टिकट वितरणको कुरा पनि लगभग मिलिसकेको थियो। तर सञ्जयका मान्छे आएर सभापतिमाथि हातपात गरे त्यसपछि हाम्रा मान्छेहरु जाइलागेका हुन्,' रामचन्द्रका स्वकीय सचिव सुरेन्द्र यादवले भने।
झडपमा परि सञ्जय यादव, रामचन्द्रका बडी गार्ड, कार्यालय सचिव रामबाबु यादव लगायत ९ जना घाइते भएका छन्।
असोज २ गते हुने तेस्रो चरणको निर्वाचनका लागि आज प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा उम्मेदवारी दर्ता भइरहेको छ।
https://www.youtube.com/watch?v=Q6cewperx1w&feature=youtu.be