भोजपुरका नौवटै स्थानीय तहका लागि सरकारबाट प्राप्त बजेटको पहिलो किस्ताको रकम निकासा गरिएको छ ।
पहिलो किस्ताबापतको जम्मा करीब ८५ करोड रुपैयाँ रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरले जनाएको छ ।
जिल्लाका कोष तथा लेखा नियन्त्रक ईश्वरीप्रसाद देवकोटाका अनुसार भोजपुर नगरपालिकामा ११ करोड ५३ लाख ४८ हजार रुपैयाँ, षडानन्द नगरपालिकामा १२ करोड ९८ लाख ९४ हजार रुपैयाँ निकासा गरिएको हो ।
त्यस्तै, अरुण गाउँपालिकामा १० करोड १३ लाख ४० हजार रुपैयाँ, आमचोक गाउँपालिकामा आठ करोड ८७ लाख ६७ हजार रुपैयाँ, ट्याम्के मैयुङ गाउँपालिकामा नौ करोड २१ लाख ५२ हजार रुपैयाँ, पौवादुङ्मा गापामा सात करोड २२ लाख ११ हजार रुपैयाँ, रामप्रसादराई गापामा आठ करोड ७३ लाख १३ हजार रुपैयाँ, साल्पासिलिछो गापामा सात करोड ४३ लाख छ हजार रुपैयाँ र हतुवागढी गापामा आठ करोड ८८ लाख ३३ हजार रुपैयाँ रकम निकासा भएको छ ।
पहिलो किस्ताको रकम भने झण्डै आर्थिक वर्ष सुरू भएको डेढ महिनापछि निकासा भएको हो । यहाँका स्थानीय तहले समयमै बैंक खाता नम्बर नपठाएकाले ढिला भएको कार्यालयको भनाइ छ । रकम निकासा गरिएपछि यता नगरपालिका, गाउँपालिकाले नगरसभा र गाउँसभा धमाधम गरिरहेका छन् । रासस