त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धनमा कुनै पनि मापदण्ड पुरा नगरेको छानबिन गर्न समितिले ठहर गरेको छ।
त्रिवि कार्यकारी परिषद्को कलेजको सम्बन्धन गर्दै कलेजका सम्बन्धमा छानबिन गर्न सनत देवकोटाको संयोजकत्वमा एक समिति बनाएको थियो। समितिमा सदस्य सचिव पर्शुराम कोईराला , सदस्य डा. प्रशान्त भट्ट छन्।
छानबिन समितिले बुधबार बिहान काठमाडौं नेसनलको शिक्षण अस्पताल पुगेर गरेको अध्ययन र अनुसन्धानबाट कलेज वैध नभएको निष्कर्ष निकालेको छ।
आज अनुगमनमा जाँदा अस्पतालमा न कुनै डाक्टर थिए, न कोही बिरामी थिएनन्।
गत साउन १२ को परिषद् बैठकले काठमाडौं नेसनललाई सम्बन्धन दिएको थियो। यसैबीत त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा कलेजलाई दिएको सम्बन्धन स्थगित भएको थियो।
‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७०’ बमोजिम नभएको समितिले निष्कर्ष निकाले छ।
‘हामीले आज अनुगमन गर्दा यो अस्पताल स्वास्थ्य मन्त्रालयबाट कुनै पनि अनुमति नलिएको र संस्था स्थापना, सञ्चालन र स्तरोन्नतीका कुनै पनि मापदण्ड पुरा नगरेको पाइयो,’देवकोटाले भने, ‘हामीले सबै अध्ययन गरिसक्यौ, निरीक्षणमा आउँदा कुनै पनि मापदण्ड पुरा नभएको देखियो प्रतिवेदन आजै हामी त्रिविमा बुझाउँछौ निर्णय त्रिविले गर्छ।’
अस्पतालको भौतिक संरचना, स्थान, आकस्मिक सेवा, २४ घन्टा सेवाको व्यवस्थापन भए–नभएको, जनशक्तिको अवस्था, आकस्मिक सेवामा काम गर्ने कर्मचारीको संख्या, बहिरंग, अन्तरंग, निदानात्मक सेवाको मापदण्ड, आइसियू, सिसियू, अप्रेसन थिएटरको अवस्था, औषधिपसल, बच्चा र आमाका लागि दिइने सेवा, फिजियोथेरापी भए–नभएको, शवगृहको व्यवस्थापन, सोधपुछ र गुनासो राख्ने स्थान, एम्बुलेन्स सेवा देखिने स्थानमा भए–नभएको, पानीको व्यवस्थापन, पानीको गुणस्तर परीक्षण, विद्युत् आपूर्ति, सरसफाइको व्यवस्था, एक वर्षसम्म पुग्ने आवश्यक सामग्रीको व्यवस्था, भूकम्प प्रतिरोधात्मक संरचना, ज्येष्ठ नागरिक र अपांगता मैत्री सेवा, वातावरणीय मूल्यांकन, बिमा सेवाबारे समितिले अध्ययन-अनुसन्धान गरेको थियो।
यसैबीच स्वास्थ्य मन्त्रालयले पनि सोमबार नै त्रिविलाई पत्र लेख्दै स्वास्थ्य मन्त्रालयसँग कुनै अनुमति नलिएको बताएको थियो।
कलेजको सम्बन्धन खारेजी र निर्णयमा संलग्नमाथि कारबाहीको माग राखी डा. केसीले आजै ३ बजे पछि माग पुरा नभए अनशन बस्ने घोषणा गरेका छन् ।
यो पनि हेर्नुहोस्