राजपा छाडेर शिवपुजन यादव माओवादीमा

प्रचण्डलाई भने - 'जति व्यस्त भएपनि फोन उठाइदिनुहोला'


राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का केन्द्रीय नेता एवम् पूर्व सांसद शिवपुजन राय यादव माओवादी केन्द्र प्रवेश गरेका छन्।

यादवले पहिलो संविधान सभामा सर्लाही ६ मा तमलोपाका अध्यक्ष महन्थ ठाकुर र कांग्रेसका अमरेशकुमार सिंहलाई फोरम नेपालबाट पराजित गरेका थिए।

उनले माओवादी प्रवेश गरेसँगै सर्लाहीबाट २ वटा नगरपालिका र २ गाउँपालिका जिताउने बताए। माओवादीले यादवलाई पोलिटब्यूरो सदस्य बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए।

यादवले माओवादी अध्यक्ष प्रचण्डलाई पार्टी प्रवेश गरेसँगै जस्तोसुकै व्यस्तताका बीच पनि फोन उठाइदिन समेत आग्रह गरे। प्रचण्डले पनि सर्लाहीमा महन्थ ठाकुर र अमरेशकुमार सिंहको क्षेत्रमा आफ्नो पार्टीको अस्तित्व नै नरहेकाले यादवले सिफारिस गरेकै व्यक्तिलाई टिकट दिने बताए।

‘उहाँहरूको संगठन भएको ठाउँमा माओवादी छँदैछैन। उहाँहरूले जो- जो भन्नुहुन्छ त्यसलाई टिकट दिन गाह्रो छैन’, प्रचण्डले भने। प्रचण्डले आफूले प्रधानमन्त्री भएका बेला संविधान संशोधन मार्फत मधेस र पहाडलाई जोड्न गरेको मिहेनत अनुसार मधेसमा माओवादीप्रति आकर्षण देखिएको बताए।

साथै, मधेसको निर्वाचनबाट सक्कली राष्ट्रवाद देखिने बताए। प्रदेश नं २ आउँदो असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ भने २१ गते स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.