निर्वाचन सम्पन्न गराउन सबै निकायको सहयोगको अपेक्षा

निर्वाचन सम्पन्न गराउन सबै निकायको सहयोगको अपेक्षा


प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्न राजनीतिक दल, नागरिक समाज, कर्मचारी र सुरक्षा निकायको सक्रिय सहयोगको अपेक्षा गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४० औं बैठकलाई सम्बोधन गर्दै उनले सो कुराको बताएका हुन् ।

बैठकमा बोल्दै  उनले सरकारले निर्वाचनसँगसँगै मुलुकलाई समृद्ध बनाउन ध्यान केन्द्रीत गरिरहेको बताए । प्रधानमन्त्री देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नु संविधान कार्यान्वयनको महत्वपूर्ण आधार रहेको स्पष्ट पारे ।

समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले आर्थिक सुधार कार्यक्रममार्फत लगानीको अनुकूल वातावरण बनाउँदै मुलुकमा दिगो आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले मुलुकमा व्यापार घाटा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै पूँजीगत खर्च बढाउन सरकारले सक्दो प्रयास गरिरहेको  बताए ।

बैठकमा प्रधानमन्त्री देउवाले बाढी र डुबान पीडितको समस्या समाधान तत्काल सम्बोधन हुनेगरी काम गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराए ।

बैठकले संघीयता कार्यान्वयन, स्थानीय तहको संचालन र जनशक्ति व्यवस्थापन, बजेट परिचालनलगायतका विषयमा देखिएको समस्या तत्काल समाधान गर्न केन्द्रीत हुने निर्णय पनि गरेको छ । संघीयता कार्यान्वयन, स्थानीय तहको संचालन र जनशक्ति व्यवस्थापन, बजेट परिचालनलगायतका १३ वटा विषयमा देखिएको समस्या तत्काल सम्बोधन गर्ने निर्णय पनि गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिय वाग्लेले जानकारी दिए ।

बैठकले बाढी र डुबान पीडितले न्यायोचित ढंगले राहत पाए-नपाएको विषयमा पनि समिक्षा गरिएको थियो । राष्ट्रिय विकास समस्या समाधान समिति मुलुकको समग्र विकास निर्माणको कामलाई अनुगमन गर्ने सबैभन्दा सर्वोच्च निकाय हो ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.