अागामी निर्वाचनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीलाई मुख्य एजेण्डा बनाउने दलहरूको प्रतिबद्धता


प्रमुख राजनीतिक दलका नेताहरूले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीलाई मुख्य एजेण्डा बनाउने प्रतिबद्धता जनाएका छन् ।

सत्तारुढ काँग्रेस/माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीको विषयमा गम्भीर बहस सुरू गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।

नयाँ शक्ति पार्टी, नेपालद्वारा आइतबार काठमाडौंमा आयोजित ‘राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख तीन वटै दलका नेताहरूले राजनीतिक स्थायित्व कायम गर्न पनि अब प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा बहस गर्ने बेला आएको स्पष्ट पारेका छन्।

काँग्रेस नेता प्रदीप गिरीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको विषयमा अब गम्भीर बहस गर्ने बेला आएको बताए । उनले राजनीतिक प्रणाली परिवेश र परिस्थितिको उपज भएको उल्लेख गर्दै अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीको विषयलाई प्रश्नोत्तरको विषय बनाउन सामयिक हुने धारणा राखे ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा चुनावी एजेण्डा बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सबल राष्ट्र र बलियो सरकार बनाउन पनि मुलुकमा प्रत्यक्ष निर्वाचन कार्यकारी हुने व्यवस्थाको पक्षमा उभिनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीको पक्षमा जाने पार्टीले औपचारिक निर्णय लिएको स्मरण गराए । उनले आगामी प्रदेश सभा र प्रतिनिधि निर्वाचनमा पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीलाई पार्टीको एजेण्डा बनाएर लैजाने घोषणा गरिसकेको पनि उल्लेख गरे । माओवादी केन्द्रले मुलुकलाई समृद्ध बनाउन पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीको विकल्प नरहेको तर्क गर्दै आएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शक्तिशाली सरकारको पक्षमा उभिनुपर्ने बेला आएको बताए । उनले शक्तिशाली सरकारले मात्रै राजनीतिक स्थायित्व कायम गर्ने भएकाले पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन प्रणालीको पक्षमा मुलुकमा बहस सुरू भएको स्पष्ट पारे ।

अध्यक्ष लोहनीले सन्तुलन र नियन्त्रणको परिधिभित्र रहेर शक्तिशाली कार्यकारीको पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने प्रतिवद्धता पनि व्यक्त गरे ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.