परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बुधबार चीन जाँदैछन्। चीनमा रहँदा महराले उच्च राजनीतिक भेटघाट गर्नेछन्। महरा निकट श्रोतका अनुसार बेइजिङमा उनले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटघाट गर्नेछन्।
महराले चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च नेतासँग पनि भेट गर्नेछन्। महरा चीनमा उच्च राजनीतिक सम्बन्ध भएका थोरै नेता मध्येमा पर्छन्।
बेइजिङमा यसपाली कुनै सम्झौता वा समझदारीमा भने हस्ताक्षर हुनेछैन। यो भ्रमणमा छलफलका लागि खासै द्विपक्षीय एजेण्डा पनि तय भएका छैनन्। नेपालले चीनसँग सम्पन्न पारवहन संन्धीको प्रोटोकलको ‘जिरो ड्राफ्ट’ केही समय अघि चिनियाँ पक्षलाई पठाएको भए पनि चीनको त्यसमा कुनै प्रतिक्रिया अझै आएको छैन। त्यो मस्यौदा पनि यसपालिको भ्रमणमा छलफल गर्ने एजेण्डामा छैन।
बेइजिङ पछि महरा चीनको ब्यापारिक शहर ग्वाङजाओ जादैछन्, जहाँ उनले नेपालको भर्खरै स्थापना भएको महाबाणिज्यदूतावास कार्यालयको उ्दघाटन गर्नेछन्।
प्रधानमन्त्री शेर बहादुर देउवाको भदौ ७ देखि ११ गतेसम्म भएको भारत भ्रमण लगत्तै महरा चीन भ्रमणमा जाँदैछन्। परराष्ट्रमन्त्रीका रूपमा महरा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण टोलीमा सहभागि थिए।
महराको यो भ्रमणमा प्रधानमन्त्री देउवाको चीन भ्रमणबारे कुरा हुन्छ वा हुन्न यकिन छैन। देउवा र चीन प्रधानमन्त्रीको तत्काल बेइजिङ भ्रमणका लागि उत्सुक छन् वा छैनन् त्यो पनि प्रष्ट छैन। प्रधानमन्त्रीको देउवाको भारत भ्रमणको एक साताअघि नेपालको भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले देउवालाई चीन भ्रमणको निम्ता भने त्यही बेला दिएका थिए।