म पार्टी निर्णयको विपक्षमा छु, चुनावको बारेमा मलाई केही नसोध्नुहोस् : अनिल झा


राष्ट्रिय जनता पार्टीका शीर्ष नेता अनिल झाले आफू निर्वाचनको पक्षमा नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार राजधानीमा अायोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने,‘मैले सुरूदेखि नै निर्वाचनको विरोध गर्दै आएको छु, अहिले पनि म निर्वाचनको पक्षमा छैन, यद्यपी पार्टीले निर्वाचनमा जाने निर्णय गरेको छ, म त यसबारेमा अल्पमतमा परेको मान्छे हुँ, बहुमत साथीहरूले निर्वाचनमा जानुपर्छ भनेर भन्नुभएकोले पार्टीले निर्वाचनमा जाने निर्णय गरेको हो।’

झाले चुनाव जानै हुँदैन भनेर आफूले पटक- पटक पार्टीभित्र कुरा राखेको उल्लेख गर्दै यो चुनावबाट कति क्षति हुने हो भन्ने कुरा परिणामले देखाउने समेत बताए ।
झाले वर्तमान सरकारलाई दिएको समर्थन एक सेकेण्ड पनि ढिलाई नगरी फिर्ता गर्नुपर्ने बताए ।

उनले भने,‘बाढी पीडितहरूको लागि राज्यले राहत त वितरण गर्‍यो, तर यो राहत चुनाव केन्द्रीत राहत हो।’ उनले टेण्ट र चामलसँगै भोट माँग्नु लज्जास्पद भएको टिप्पणी गरे ।

उनले चुनाव जित्नको लागि तराईमा धमाधम राहत वितरण भैरहेको आफूले प्रत्यक्ष देखेर आएको समेत गुनासो पोखे । उनले थपे,‘लुट्न र मनपरी गर्ने काम भैरहेको छ, त्यसैले यो सरकारलाई समर्थन गरिरहनु अब एक सेकेण्ड पनि औचित्य छैन।’

उनले तराईमा अहिले राहत लिनुछ भने रुखमा भोट हाल्नुहोस वा हँसिया हथौडामा भोट हाल्नुहोस् भन्ने काम सरकारमा बस्ने दलहरूले गरिरहेको समेत आरोप लगाए ।

उनले आफूहरूको एजेण्डालाई कांग्रेस र माओवादी केन्द्रले बाढीसँगै बगाउने काम गरेको समेत आरोप लगाए । उनले थपे,‘सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले प्रस्ताव पास गराउन पर्याप्त गृहकार्य नै गरेका थिएनन्, यो प्रस्ताव तुहाउनको लागि ल्याइएको थियो।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.