सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले २ नम्बर प्रदेशको चुनावमा पार्टीले परिवर्तनकारी शक्तिहरूसँग तालमेल गर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा अायोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘परिवर्तनकारी शक्तिहरू, संघीयता पक्षधरहरूसँग मात्रै हाम्रो पार्टीले चुनावी तालमेल गर्छ, संघीयता विरोधीहरूसँग हामी तालमेल गर्दैनौं।’
शर्माका अनुसार पार्टीले कांग्रेस, एमाले, राजपा लगायत अन्य दलहरूसँग पनि आवश्यकता र अनुकुलता अनुसार तालमेल गर्ने तयारी गरेको छ।
२ नम्बर प्रदेशमा आफ्नो पार्टी पहिलो हुने उनको दाबी थियो । उनले थपे,‘हामी २ नम्बर प्रदेशमा पहिलो हुने भनेर नै लागिरहेका छौं, मधेस र मधेसी जनताको मित्र शक्ति नै हाम्रो पार्टी हो।’
त्यस्तै, उनले तराईमा बाढी पीडितहरूलाई राहत वितरण गर्दा वास्तविक पीडितहरूलाई दिनुपर्ने धारणा राखे । उनले भने,‘पीडितहरूलाई राहत दिनुपर्छ, अहिले भोटको लागि वितरण गरिएको भन्ने कुरा जो उठेको छ, त्यस्तो गरिनुहुँदैन।’