‘नाङ्लो ठट्याएर हात्ती तर्साउन खोजेका होलान्, तर एमाले तर्सिनेवाला छैन।’

‘नाङ्लो ठट्याएर हात्ती तर्साउन खोजेका होलान्, तर एमाले तर्सिनेवाला छैन।’


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लडेपनि पहिलो स्थान हासिल गर्ने दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा अायोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने,‘हामी तालमेल गरेपनि वा एक्लै चुनाव लडेपनि ४५ प्रतिशतभन्दा माथि नै मत ल्याउँछौं अर्थात २ नम्बर प्रदेशमा एमाले पहिलो शक्ति हुन्छ।’ उनले दुनियाँको कुनैपनि शक्तिले रोक्न खोजेपनि एमालेलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।

असोज २ गतेको स्थानीय तहको चुनावमा कांग्रेससँग भने आफ्नो पार्टीले तालमेल नगर्ने उनले स्पष्ट पारे । पार्टीले आउने आइतबारसम्म १३६ वटै तहको उम्मेदवारको नाम टुँगो लगाउने समेत उनले जानकारी दिए । उनले थपे,‘उम्मेदवार  टुँगो लगाउने कुरामा हाम्रो पार्टीभित्र कुनै समस्या छैन, प्रायः धेरै ठाउँको भैसकेको छ, बाँकी हामी आइतबारसम्म टुँगो लगाउँछौं।’

उनले कांग्रेसलाई मधेसी दलको अर्को रूपको संज्ञा समेत दिए । उनले भने,‘कांग्रेस आफ्नो कारणले भन्दापनि बाहृय शक्तिको इसारामा चलेको छ।’ मधेसमा एमालेलाई निषेधको राजनीति गर्नेहरू जति नै सलबल्याए पनि आफूहरू नतर्सिर्ने महासेठले चेतावनी दिए ।

उनले भने,‘नाङ्लो ठट्याएर हात्ती तर्साउन खोजेका होलान्, तर एमाले तर्सिनेवाला छैन।’ उनले अहिले मधेसमा राजपाको नाममा दिनभरि राजपा र बेलुका खाना खाने समयमा कांग्रेस हुनेहरूको हुल लागेको समेत आरोप लगाए ।

उनले निषेधको राजनीति नगर्न समेत चेतावनी दिए । उनले थपे,‘हिम्मत भए भोटिङबाटै हामीलाई मधेसबाट आउट गरेर देखाउनुहोस्, होइन भने १०/२० जना हुल्लरबाजको हल्लाले एमाले तर्सिनेवाला होइन्।’ महासेठले चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिद्वन्दी  नै कांग्रेस भएको बताए ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै मात्र जनकपुरको एक सार्वजनिक कार्यक्रममा नेता तथा कार्यकर्ताहरूलाई तपाईहरू १०० सीट जित्नुहोस त्यसको लागि जतिपनि बोरा खोल्न हामी तयार छौं भनेर अभिव्यक्ति दिएको आरोप लगाउँदै भने,‘आर्थिक प्रलोभन र प्रशासन दुरुपयोग नगरौं, धाँधलीरहित वातावरणमा चुनाव हुन दिउँ।’

उनले मधेशमा चुनावको वातावरण बनिसकेकाले सबै पार्टीहरू गाउँ–गाउँसम्म चुनावी अभियानमा होमिएको जानकारी दिए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.