जनशक्तिको अभावमा प्रभावकारी भएन जिल्ला अदालतको काम


काठमाडौं जिल्ला अदालतले जनशक्तिको अभावमा मुद्दा फैसलाको काम अपेक्षा गरे अनुसार अघि बढन नसकेको जनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालले जनशक्तिको व्यवस्थापनमा ढिलाई हुँदा मुद्दा फैसलाको काम प्रभावित भएको स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी न्यायाधीश ढकालले न्यायाधीशहरूको व्यवस्थापनको काम तत्काल नहुँदा मुद्दा फैसलामा ढिलाई हुनुलाई अन्यथा लिन नहुने स्पष्ट पारे । गत वर्ष काठमाडौं जिल्ला अदालतका १० जना न्यायाधीश बढुवा भएपनि सो ठाउँमा तत्काल न्यायाधीशको व्यवस्थापनको काम हुन सकेको थिएन। न्यायाधीश ढकालले न्यायाधीशको कमी हुँदा पनि लक्ष्य अनुसारनै मुद्दा फैसलाको काम भएको जानकारी दिए ।

अदालतले आर्थिक वर्ष २०७३/०७४ मा ११ हजार ३ सय २६ वटा मुद्दा फैसला गरेको छ । न्यायाधीश ढकालले कुल मुद्दा १८ हजार ७ सय ४ वटा रहेकोमा ६० दशमलव ५५ प्रतिशत मुद्दा फैसला भएको जानकारी दिए । उनले जनशक्तिको अभावमा पनि करीब ६१ प्रतिशत मुद्दा फैसला हुनुलाई आफूहरूले सफलताको रूपमा लिएको उल्लेख गरे ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.