मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरूको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
आज महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका हुन् ।
अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतै पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए पनि आफूहरूले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए ।
अर्को प्रसंगमा उनले उच्च तहमा दलित नपुगेसम्म देशमा लोकतन्त्र स्थापित हुनै सक्दैन भने ।
त्यस अवसरमा नेपाली काँग्रेसका पूर्व गाविस अध्यक्ष महेन्द्र यादव सहित अन्य पार्टी परित्याग गरेका करीब पाँचसय कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । पार्टी अध्यक्ष यादवले उनीहरूलाई स्वागत गरेका थिए । रासस