संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन माग गरेका छन्।
आयोगले मधेसमै मधेसी जनताको प्रतिनिधित्व घटाउने प्रयास गरेको भन्दै शुक्रबार विज्ञप्ति निकालेर उनले प्रतिवेदन सच्याउन माग गरेका हुन्।
'संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको,सामाजिक संरचनालाई तहसनहस पारेको, मधेसमा मधेसी बाहुल्य क्षेत्रलाई टुक्राटुक्रा गरी गैरमधेसी बाहुल्य क्षेत्रमा गाभ्ने काम गरी मधेसमै मधेसी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास गरेको र मधेसी समुदायप्रति पूर्ण रूपले विभेद गरेकाले आयोगको प्रतिवेदन अत्यन्तै विभेदकारी, आपत्तिजनक र त्रुटीपूर्ण रहेको हाम्रो ठहर छ।'
५१ प्रतिशत जनसंख्या रहेको मधेसमा ४७ प्रतिशत निर्वाचन क्षेत्र कायम गरी मधेसी समुदायको प्रतिनिधित्व घटाउन खोजेको उनको आरोप छ। आयोगले पहाडी र हिमाली क्षेत्रमा समेत जनजाति प्रतिनिधित्व घटाउने गरी क्षेत्र निर्धारण गरेको उनको आरोप छ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बुधबार सरकारलाई बुझाएको थियो।