गोपाल खड्काद्वारा नागरिक विरुद्ध मुद्दा दायर


नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले नागरिक दैनिक विरुद्ध ८० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन्।

भदौ १ गते दायर गरेको उक्त मुद्दाबारे बिहिबार मात्र अदालतले आफूलाई जानकारी दिएको नागरिक दैनिकले बताएको छ।

निगममा भएको भ्रष्टाचारका विषयमा नागरिकले लेखेको समाचार र सम्पादकीयले आफ्नो गाली बेइज्जती गरेको भन्दै उनले मुद्दा दायर गरेका हुन्। नागरिक दैनिकका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, प्रधानसम्पादक गुणराज लुइँटेल तथा निगमबारे समाचार लेख्ने संवाददाता दिलीप पौडेललाई विपक्षी बनाइएको छ।

यति धेरै क्षतिपूर्ति मागेर कुनै पत्रिका विरुद्ध गाली बेइज्जती मुद्दा परेको नेपालमा पहिलोपटक हो।

पेट्रोलियम पदार्थको एकाधिकारसहित व्यापार गरिरहेको नेपाल सरकारको आधिकारिक वितरक निगममा जग्गा खरीद, पेट्रोलियम पदार्थ भण्डारणलगायत विषयमा भइरहेको संस्थागत अनियमिततताबारे नागरिक दैनिकले केही समययता निरन्तर समाचार प्रकाशन गर्दै आएको छ। समाचार र सम्पादकीय झुटा भएको र नागरिक दैनिकले गाली बेइज्जती ऐन, २०१६ को दफा ३ उल्लंघन गरेको खड्काले दाबी गरेका छन्।

‘मैले असल नियतले नेपालमा पेट्रोलियम पदार्थको सुरक्षित भण्डारण बढाउन खोजेको नेपाल आयल निगमको सेवामा प्रतिस्पर्धात्मक रूपमा जनतालाई सहज रूपमा सेवा दिन खोजेको कार्यलाई सम्मानित गर्नुको सट्टा कलंकित गरी करोडौं रकम अनियमितता गरेको समाचार प्रकाशन गर्ने प्रतिवादीहरूले मजस्तो इमानदार राष्ट्रसेवकलाई अपमानित गरी बेइज्जती गरेको हुँदा प्रतिवादीहरूले आफैंले उल्लेख गरेको समाचारको आधारमा निजहरूबाट जनही बीस करोड रुपैयाँ क्षतिपूर्ति रकम भराउन मनासिब हुने हुँदा प्रतिवादीबाट उपरोक्त क्षतिपूर्तिको रकम भराई र मुद्दामा लागेको खर्चसमेत भराई पाउन सादर अनुरोध गर्छु,’ खड्काको मुद्दामा उल्लेख छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.