एमालेले दुई नम्बर प्रदेशका उम्मेदवार भोलि टुंग्याउने


नेकपा एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उठ्ने उम्मेदवारबारे शनिबार निर्णय गर्ने भएको छ।

उम्मेदवारबारे निर्णय गर्न शनिबार स्थायी समिति बैठक बोलाइएको सचिव योगेश भट्टराईले जानकारी दिए। दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये ११६ वटा नगरपालिका र गाउँपालिकाका उम्मेदवारबारे प्रदेश कमिटीले निर्णय गरेको छ।

बाँकी २० वटा स्थानीय तहको नेतृत्वमा उठ्ने उम्मेदवारको नाम शनिबार बस्ने स्थायी समिति बैठकले निर्णय गर्ने छ। प्रदेश कमिटीका सहसंयोजक नागेन्द्र चौधरीका अनुसार स्थायी कमिटीले निर्णय गरेपछि १३६ वटै स्थानीय तहका उम्मेदवाको सूची एकसाथ सार्वजनिक गर्ने तयारी भएको छ।

एमालेमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिका प्रमुख/उपप्रमुखको उम्मेदवारबारे प्रदेश कमिटीले निर्णय गर्ने, महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखबारे स्थायी समितिले निर्णय गर्नेछ।

दुई नम्बर प्रदेशमा रहेको एकमात्र महानगरपालिका वीरगञ्जमा एमालेका तर्फबाट बसरूद्धीन अन्सारी उठ्ने निश्चित छ। स्थायी समिति बैठकले उनको नाममा औपचरिक निर्णय गर्न मात्र बाँकी रहेको चौधरीले बताए। यो प्रदेशमा रहेका तीन उपमहानगरपालिकाका उम्मेदवारको टुंगो पनि स्थायी समितिले लगाउने छ।

धनुषाको जनकपुर उपमहानगरपालिकामा अहिलेसम्म १० जनाले मेयरको उम्मेदवारीका लागि दाबी गरिरहेका छन्। लक्ष्मीनारायण भगत, दिपेन्द्र यादव र श्याम पूर्वे साहलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ।

बाराको कलैया नगरपालिकामा मोहम्मद समी उल्लाह,सुरेश मदक,ध्रुव यादव र बिनोद साह छन्। मोहम्मद समी उल्लाहलाई प्रमुख दाबेदार हुन्। बाराकै अर्को उपमहानगर जितपुर-सिमराको मेयरका लागि देवनारायण चौधरी मनोज पौडेल, भरत खड्का र कृष्ण पौडेलको नाम जिल्ला कमिटीले सिफारिस गरेको छ।

स्थायी समितिले यी स्थानीय तहका साथै प्रदेश समितिले टुंग्याउन नसकेका नगरपालिका र गाउँपालिकाका प्रमुखबारे पनि निर्णय गर्ने छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.