पहिलो चरणमा १६५ मध्ये ३७ क्षेत्रमा मात्र निर्वाचन हुने


निर्वाचन आयोगले संघ र प्रदेशको पहिलो चरणको निर्वाचन ३७ निर्वाचन क्षेत्रमा मात्र गर्ने भएको छ।

नयाँ संविधान अनुसार नेपालमा हाल १ सय ६५ निर्वाचन क्षेत्र रहेका छन्। तर, आयोगले हिमाली र पहाडी जिल्लाहरूमा मात्र पहिलो चरणमा मंसिर १० गते निर्वाचन गर्न लागेको हो।

आयोगले ३२ जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने जनाएको थियो।

निर्वाचन हुनेमा अधिकाशं एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाहरू छन्। पहिलो चरणमा राजधानी काठमाडौंसहित कुनैपनि मुख्य शहर र महानगर रहेका क्षेत्रमा निर्वाचन हुने छैनन्।

प्रदेश नं १ का सोलुखुम्बु, भोजपुर, संखुवासभा, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचचर र खोटाङमा पहिलो चरणमा निर्वाचन हुनेछ। सबै जिल्लामा एक मात्र निर्वाचन क्षेत्र छन्।

त्यस्तै, प्रदेश नं २ का कुनैपनि जिल्लामा पहिलो चरणमा निर्वाचन हुनेछैन। प्रदेश नं ३ का दुई निर्वाचन क्षेत्र रहेका नुवाकोट, धादिङ र सिन्धुपाल्चोकमा पहिलो चरणमा निर्वाचन हुनेछ।

एक निर्वाचन क्षेत्र रहेको रसुवा, दोलखा र रामेछापमा पनि मंसिर १० गते नै मतदान हुनेछ। प्रदेश नं ४ को मुस्ताङ, म्याग्दी, मनाङ र लमजुङमा पहिलो चरणमा निर्वाचन हुनेछ। यी सबै जिल्लामा एक मात्र निर्वाचन क्षेत्र छन्।

प्रदेश नं ४ को दुई क्षेत्र रहेका गोरखा र बाग्लुङमा पनि पहिलो चरणमै निर्वाचन हुनेछ। प्रदेश नं ५ को रुकुमको पूर्वी भागलाई एक जिल्ला र एक निर्वाचन क्षेत्रको रुपमा निर्वाचन हुनेछ।

त्यस्तै, रोल्पामा पनि एक मात्र निर्वाचन क्षेत्र छ। प्रदेश ६ मा रहेको रुकुम पश्चिममा पनि पहिलो चरणमा निर्वाचन हुनेछ। जाजरकोट, मुगु, हुम्ला, जुम्ला, कालिकटो र डोल्पामा पनि पहिलो चरणमा निर्वाचन हुनेछ।

प्रदेश ७ को दार्चुला, बझाङ, बैतडी र बाजुरामा पहिलो चरणमा निर्वाचन हुनेछ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको एकसाथ निर्वाचन गर्न लागेको हो।

दुई मतपत्रमा चार छाप लगाउने गरी निर्वाचन गराउने तयारी आयोगको छ। प्रदेश सभाको ७४ सिटका लागि निर्वाचन हुनेछ। पहिलो चरणको निर्वाचनबाट कुनै पनि प्रदेशमा प्रदेश सभा समेत गठन हुनेछैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.