निर्वाचन आयोगले सरकारलाई ७ बुँदे निर्देशन जारी गरेको छ।
बिहीबार बसेको आयोगको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मर्यादित, स्वच्छ तथा पारदर्शी ढंगले सम्पन्न गर्न र निर्वाचन आचार संहितालाई पूर्ण रूपले कार्यान्वयन गर्न/गराउन यस्तो निर्देशन जारी गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
प्रवक्ता ढकालका अनुसार आयोगले नेपाल सरकारले गर्ने सबै किसिमका राजनीतिक नियुक्तिमा रोक लगाएको छ। संयुक्त राष्ट्रसंघ, सार्कलगायत अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनहरूमा भाग लिन वा विदेश भ्रमणमा राज्यको प्रतिनिधित्व गर्ने बाहेक अरू सबै किसिमका वैदेशिक भ्रमणमा पनि रोक लगाएको छ।
राज्यको प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा पठाउनु नै पर्ने भएमा पनि आयोगको अनिवार्य स्वीकृति लिन निर्देशन दिएको छ।
यस्तै, कर्मचारीहरूको सरुवा र काज सरुवा गर्ने पनि पूर्ण रूपमा आयोगले रोक लगाएको छ। प्राकृतिक प्रकोप वा अकल्पनिय घटना, उच्च राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयहरूमा वा राष्ट्रिय गौरवका आयोजनामा आयोगको स्वीकृति लिएर बजेट थप, रकमान्तार तथा कार्यक्रम संशोधन गर्न सकिने आयोगद्वारा जारी निर्देशनमा उल्लेख छ।
तर, यसबाहेक अन्य सबै आयोजनामा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन गर्न नमिल्ने आयोगले जनाएको छ। राजनीतिक नियुक्ति पाएका व्यक्तिले जिल्ला भ्रमण गर्दा निर्वाचन प्रचार प्रसार बाहेकका सरकारी काममा मात्र सवारी साधन प्रयोग गर्न पनि आयोगले निर्देशन दिएको प्रवक्ता ढकालले बताए।
प्रधानमन्त्रीले आयोगको स्वीकृति लिएर हेलिकप्टर प्रयोग गर्न सक्ने तर मन्त्री तथा सार्वजनिक पद धारण गरेका अन्य व्यक्तिहरूले सरकारी काममा सरकारी हेलिकप्टर प्रयोग नगर्न निर्देशन दिएको छ। निजी हेलिकप्टर प्रयोग गर्नुपरे निर्वाचन आयोगको पूर्वसहमति लिएर मात्र प्रयोग गर्न पाउने आयोगको निर्देशनमा उल्लेख छ।
भदौ १४ गतेबाट निर्वाचन आचारसंहिता लागू भएकाले उक्त आचार संहिताको पूर्ण रूपले परिपालना गर्न र गराउने पनि सरकारलाई निर्देशन दिएको छ।