बिआरआईमा रहेर व्यापार विस्तार गर्नुपर्छ : परराष्ट्रमन्त्री


उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनले सुरू गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन् ।

नेपाल चाइनिज गाइड एशोसिएशन (नेगा)को बिहिबार काठमाडौंमा उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले भने, ‘नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ ।’ मन्त्री महराले नेपालको महत्वपूर्ण पर्यटकीयस्थल लुम्बिनीको विकास र प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदै नेपाली र चिनियाँबीच राम्रो सम्बन्ध विकासमा लुम्बिनी महत्वपूर्ण गन्तव्य हुने उल्लेख गरे ।

परराष्ट्रमन्त्री महराले द्रुत विकासमा चीनका पर्यटकको आगमन बढ्दै गएको उल्लेख गर्दै नेपाल–चीनबीच ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउन पथप्रदर्शकको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरे ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यु होङले चिनियाँ सरकारले नेपालको पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । कार्यक्रममा सांसद टेकबहादुर गुरुङ, नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापालगायतले छिमेकी मुलुक चीनबाट बढी पर्यटक भित्र्याउन सके पर्यटनको माध्यमबाट नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संस्थाका तर्फबाट अनुभवी पथप्रदर्शक ८१ वर्षीय किसनबहादुर नगरकोटीलाई सम्मान गरिएको थियो । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.