नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले संसदबाट राजिनामा दिएका छन् ।
संविधान सभाको दोस्रो चरणको निर्वाचनमा ललितपुरबाट समानुपातिक सांसद रहेका घिसिङले बिहिबार सभामुख ओनसरी घर्ती र प्रमुख सचेतक रेखा शर्मालाई राजिनामा पत्र बुझाएका हुन् ।
पार्टीको केन्द्रीय सदस्य तथा राजनैतिक सम्वाद तथा सहमति समिति र सार्वजनिक लेखा समितिमा सदस्य समेत रहेका उनी दश वर्षे जनयुद्धका घाइते योद्धा हुन् । बौद्धिक तथा प्रखर वक्ताका रूपमा छवि बनाएका उनले राजिनामा दिँदै २७ वर्षको राजनैतिक यात्रामा जेल नेल र अमानवीय यातना भोग्नु परे बताएका छन् । साथै उनले देशका लागि रगत र शारीरिक अङ्ग समर्पित गर्न पाउँदा गौरवान्दित महशुस गरेको बताएका छन् ।
नेपाली राजनीति यथास्थितिमा रहेको बताउँदै उनले राजनैतिक दलहरूको भ्रमपूर्ण व्यवहारका कारण इमान्दार, देशभक्त, स्वाभिमानी र प्रतिभावान राजनैतिक कार्यकर्ताहरू विक्षिप्त भएका बताएका छन् ।
‘चुनाव र पार्टी महाधिवेशनमा मात्र कार्यकर्ता उपयोगको संस्कार विडम्बना र दुर्भाग्यपूर्ण हो’ उनले भने, ‘ यसमा गम्भीर खेद प्रकट गर्न चाहन्छु ।’ उनले माओवादी केन्द्रको मुख्य नेतृत्वलाई मुठिभर मानिसको घेराबन्दीमा रहेर गुठ सञ्चालन गरेको र पार्टीले जनजाति, मधेसी, दलित र मुस्लिमको आर्थिक, शैक्षिक र सभ्यताको विकास र सम्मानमा उचित विचार र कार्यनीतिको अभाव देखिएको बताएका छन् ।
‘केन्द्रदेखि वडासम्म आफ्नो खल्तीको चिट र सनकबाट भजनमण्डली तयार गर्दै स्वाभिमानी, इमान्दार र प्रतिभावान पंक्तिलाई बाटो बन्द गरी अलोकतान्त्रिक निरंकुश शैली चलाएर अन्तरपार्टी लोकतन्त्रको निरन्तर धज्जी उडाइएको छ,’ उनले विज्ञप्ति मार्फत भने, ‘यसको परिणाम पार्टी विभाजन र विघटनमार्फत अभिव्यक्त भइरहेको छ ।’
बिहिबार अर्थात भदो १५ गतेको मितिबाट पार्टीको केन्द्रीय समिति र कुनै पनि तहको पार्टीगत जिम्मेवारीमा नरहेको बताउँदै उनले भने, ‘नदीको वेगले आफ्नो बाटो आफैँ पहिल्याएर बग्छ । केन्द्रीय सदस्य एवं कुनैपनि तहको जिम्मेवारीमा नरहने र वर्तमान व्यवस्थापिका संसदको सदस्य परित्याग गरिएको जानकारी गराउँछु ।’
उनले नेपाली जनताको विकास र सम्बृद्धिमा निरन्तर समर्पित भइरहने प्रतिबद्धता समेत जनाएका छन् ।