कांग्रेसले लगायो २ नम्बर प्रदेशका उम्मेदवारको टुंगो


प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

प्रदेश नम्बर २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राष्ट्रिय समाचार समितिलाई जानकारी दिएका छन्। सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर भएकाले भोलिमात्रै सबै नाम सार्वजनिक गरिने भएको छ ।

निर्वाचनको तयारीका लागि पार्टीले आठ जिल्लाका सबै तहमा प्रचार समिति गठन गर्नुका साथै सबै जिल्लामा सञ्चार केन्द्र स्थापना गरी  प्रचार प्रसारलाई तीव्रता दिएइको, जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने र निर्वाचनमा सबै भ्रातृ एवं शुभेच्छुक संस्थालाई परिचालन गरिएको पार्टी कार्यालयले जनाएको छ।

निर्वाचन आचारसंहिताका कारण पार्टीले प्रचारका लागि ठूला आमसभाभन्दा पनि घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

२ नम्बर प्रदेशका स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन केहि दिन यता कांग्रेस महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री विमलेन्द्र निधिले गोप्य बैठक गरिरहेका थिए। उनीहरूले छलफल सकेपछि २ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूसँग बसेर नामावली टुंगोमा पुराएका हुन्।

दुई नेता र केन्द्रीय सदस्यहरूले टुंगोमा पुर्याएको नामावली सभापति शेरबहादुर देउवालाई व्रिफिङ्ग गरेपछि भोलि सार्वजनिक हुने बताइएको छ। यसअघि स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते भएको थियो भने दोस्रो चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा भएको थियो ।

निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रोचरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताका लागि स्वयंसेवकसहित ३१ हजारभन्दा बढी कर्मचारी खटिने आयोगले जनाएको छ ।

प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । आगामी स्थानीय तहको निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१ तथा पाँच हजार ८४ वडा सदस्यसहित कुल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.