२ नम्बर प्रदेशका स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन कांग्रेस महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री विमलेन्द्र निधि अहिले गोप्य बैठकमा ब्यस्त छन्।
कांग्रेसका सूचना अधिकारी केशव रिजालका अनुसार पार्टीकै निर्देशन अनुसार दुई नेता उम्मेद्वार छान्न गोप्य मिटिङमा बसेका हुन्। ‘पार्टीको निर्देशन अनुसार दुई नेता उम्मेद्वार छनोट गर्न गोप्य छलफलमा व्यस्त हुनुहुन्छ,’ उनले भने।
उनीहरूले छलफल सकेपछि २ नम्बर प्रदेशका केन्द्रीय सदस्यसँग बसेर पार्टीले नामावली टुंगो लगाउने छ।
केन्द्रीय सदस्यहरुसँगको बैठक आजै साँझ बस्ने कांग्रेस केन्द्रीय नेता रमेश रिजालले सेतोपाटीलाई बताए।
‘कहिले कहाँ भनेर केही नसोध्नू हामी आज बैठक बसेर धेरै जसो ठाउँको उम्मेदवार साँझ सम्ममा टुंगोमा पुर्याउँछौँ,' उनले भने, 'आज संभवत: ६० प्रतिशत उम्मेदवारको छनोट टुंगोमा पुग्छ।'
दुई नेता र केन्द्रीय सदस्यहरुले टुंगोमा पुर्याएपछि सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गर्ने र त्यसपछि नामावली सार्वजनिक हुने उनले बताए।
केही ठाउँमा विवाद भएकाले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्न ढिलाई भएको उनले जानकारी दिए।
रिजालका अनुसार, तराईका चार जिल्लामा धेरै विवाद छ।
‘सिरहा, सप्तरी, सर्लाही र महोत्तरीका केही स्थानीय तहमा विवाद छ, तर धेरै ठाउँमा त लगभग टुंगोमा पुगिसकेको छ, अन्तिम नामावली आउन मात्र बाँकी हो,' उनले भने।
प्रदेश नम्बर २ मा एक महिना अघि उम्मेदवारी घोषणा गर्ने भनेर कांग्रेसले साउन अन्तिम साता पाँच दिनभित्र सकेसम्म स्थानीय संयन्त्रबाटै मिलाएर पठाउन भनेको थियो।
तर ८ जिल्ला मध्ये रौतहटमा बाहेक सबै ठाउँमा विवाद थियो।
रौतहट सभापति कृष्ण यादवले आफ्नो जिल्लाका १८ मध्ये १६ नगरपालिका र २ गाउँपालि मै सर्वसम्मतिले निर्णय गरेको बताए।
पर्साका वीरगञ्ज महानगरपालिका र पोखरिया नगरपालिकामा विवाद छ। त्यस्तै सिराहाका ७ वटा नगरपालिकामा विवाद छ। यहाँ १७ स्थानीय तह छन्। जिल्ला सभापति रामचन्द्र यादवका अनुसार, लाहान, कल्याणपुरन, सिजृनहा, मिर्चैया, गोलबजार, धनगढी नगरपालिकामा विवाद छ।
महोत्तरी जिल्लाका १५ वटा स्थानीय तह मध्ये ३ नगरपालिकामा विवाद भएपछि केन्द्रमा पठाइएको छ। वलवा, लाहोरपट्टी र मठीहानी नगरपालिकामा विवाद छ।
त्यस्तै सप्तरीका १८ मध्ये ११ वटामा विवाद छ। फत्तेपुर नगरपालिका, कन्चनरूप नगरपालिका, कृष्ण रवन गाउँपालिका, रूपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका, बेलीचपेला गाउँपालिका र बिहुलबलान गाउँपालिकामा निर्विवाद उम्मेदवारी चयन भए पनि अरुमा विवाद भएपछि केन्द्रमा पठाइएको हो।
धनुषा र सर्लाहीबाट पनि स्थानीय संयन्त्रमा टुंगो नलागेपछि नामावली केन्द्रमा आएको थियो।