नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य विदेशी एजेण्टको रूपमा काम गरिरहेको आरोप लगाएका छन् ।
भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी दिएका हुन् ।
कार्यक्रममा बोल्दै उनले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै विदेशीहरूले जानकारी पाउनु र पूर्व योजना अनुसार काम गर्न सफल हुनुमा ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य विदेशी एजेण्टको भूमिका रहेको बताएका हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसदको मर्यादा विपरित रहेको र के बोल्ने भन्नेबारे जानकारी समेत नरहेको बताए । देउवाले पहिले नै गरेको प्रतिबद्धताको पालना गर्दै भारतका प्रधानमन्त्रीका अघि त्यस्तो अभिव्यक्ति दिएको हुन सक्ने उनले बताए ।
संसदले नेपाल र भारतको सीमामा बनाएका विभिन्न बाँधहरू भत्काउने निर्णय गरिसकेता पनि सरकार चुप लागेर बस्नु नै तराईलाई बाढीको चपेटामा पार्ने काम भएको भन्दै उनले हाल बाढी पीडित राहत वितरणमा समेत सरकाले पक्षपात गरेको बताए ।
निर्वाचन आयोगले निर्वाचनका लागि तोकेको समयमै निर्वाचन सम्पन्न हुने भन्दै निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबाबमा पारी मिति परिवर्तन लगायत अन्यका काम गर्नु देशको हितानुकुल नहुने उनले बताए।
सिंहदरबारको अधिकार गाउँ- गाउँ भन्ने नारा दिएर जनतालाई सरकार र प्रतिपक्षमा रहेको दलका साथै अन्य दलका नेताहरूले भ्रमको खेती गरेको भन्दै उक्त अधिकार सम्बन्धी विधेयक र कानूनहरू थन्किनु यसको ज्वलन्त उदाहरण रहेको उनले बताए ।
नेपालका प्रधानमन्त्री र पूर्व उपप्रधानमन्त्रीले कहाँ के बोल्ने बारे थाहासम्म नभएको पछिल्लो समयमा माधव कुमार नेपालको उत्तर कोरिया भ्रमणका बारे गरिएको टिप्पणीलाई लक्षित गर्दै पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिलाई भारत र बिहारबाहेक अन्य स्थानका बारे थाहा नभएको बिजुक्छेंले व्यङ्ग्य गरे।