राणाको पार्टीमा गएका भनिएका ९ जनालाई राखेर थापाको पत्रकार सम्मेलन

'राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्ने निर्णय हचुवाको भरमा'

फाइल तस्बिर।


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा विभाजनबारे गरेको निर्णय त्रुटीपूर्ण भएको आरोप लगाएका छन्।

आयोगले पशुपतिशम्शेर राणाको पक्षमा ६६ जना केन्द्रीय सदस्य र १७ जना सांसद रहेको भन्दै राप्रपा प्रजातान्त्रिक दर्ता गरेको थियो। आयोगले नाम उल्लेख गरेका ६६ मध्ये ९ जना केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गरेका हुन्।

आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने,’केन्द्रीय समितिका ९ जना सदस्य यहाँ हुनुहुन्छ। अब उहाँहरूको पक्षमा ४० प्रतिशत पुग्दैन।’

उनको दाबी अनुसार राणा पक्षमा अब ५७ जना केन्द्रीय सदस्य मात्रै बाँकी छन्।

कानुनत: पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशतको समर्थन आवश्यक पर्छ। ४० प्रतिशत पुर्या उन राणाको साथमा कम्तीमा ६३ जना केन्द्रीय सदस्य हुनु आवश्यक छ।

निर्वाचन आयोगले नाम उल्लेख गरेकामध्ये ९ केन्द्रीय सदस्य र २ सांसद आफ्नो पक्षमा रहेको थापाको दाबी छ। त्यसैले, राप्रपा प्रजातान्त्रिक दर्ता गर्ने निर्वाचन आयोगको निर्णय त्रुटीपुर्ण रहेको उनको टिप्पणी छ।

उनले निर्वाचन आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा समेत गरेको आरोप लगाए।

‘सर्वोच्चले निवेदन दिएका ५६ जनालाई आधार मानेर प्रकृया पुरा गरी पार्टी विभाजनबारे निर्णय लिनु भनेको छ, ‘ थापाले भने, ‘तर आयोगले कुनै प्रकृया अघि नबढाई हचुवाको भरमा विभाजित राप्रपा दर्ता गरेको छ। निर्वाचन आयोगको यो निर्णय कानुन र संविधानसम्मत छैन।

आयोगले हचुवाको भरमा पार्टी दर्ता गरेको छ।’ थापाले आयोगको यो कदमविरूद्ध आफू फेरि सर्वोच्च अदालत जाने बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.