अखिल क्रान्तिकारीको अध्यक्षमा दाहालसहित पाँच नेताका अा-अाफ्नै उम्मेद्वार


नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल क्रान्तकारीमा अध्यक्ष पदमा पाँच जना प्रतिष्पर्धी देखिएका छन्।

वैद्य नेतृत्वको नेकपा माओवादीबाट फुटेर आएकाहरूसँगको एकतापछि हुन लागेकाले महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ।

भदौ ७ गतेदेखि राजधानीमा जारी महाधिवेशनमा शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने तयारी भैरहेको छ। महाधिवेशनमा २ हजार ७६ प्रतिनिधि सहभागी छन्।

यद्यपि पार्टी केन्द्रीय नेतृत्वले भने सहमतिको प्रयास गरिरहेको छ।

अध्यक्षका आकांक्षीमा अधिकाशं हालको कार्यसमितिमा रहेका उपाध्यक्षहरु रहेका छन्।

चितवनका रामचन्द्र अधिकारीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालको समर्थन छ। भरतपुर महानगरको मेयरमा रेणु दाहाललाई जिताउन भूमिका खेलेका अधिकारीलाई अध्यक्ष बनाउन दाहालमाथि छ।

महाधिवेशनमा मतदान भए सबैभन्दा बलियो स्थितिमा भने अनिल शर्मा हुनेछन्। उनी गृहन्त्री जनार्दन शर्माका भाइ हुन्।

संगठनमा उनको बलियो पकड छ। तर पार्टीमा जनार्दन शर्मा बलियो बन्दै गएपछि अन्य नेताहरुले अनिललाई समर्थन गरेका छैनन्। माओवादी नेता वर्षमान पुन र शक्ति बस्नेतले भने रञ्जीत तमाङलाई अगाडि सारेका छन्।

उनले हालसम्म पूर्वबाट कुनै पनि अध्यक्ष नभएकाले आफूले पाउनु पर्ने दाबी गर्दै आएका छन्। त्यस्तै नारायणकाजी श्रेष्ठ निकटका मदन अर्याल पनि अध्यक्षका आकांक्षी छन्। उनले आफू वैचारिक नेतृत्व स्थापनाका लागि उम्मेद्वार बनेको बताउने गरेका छन्।

त्यस्तै रामबहादुर थापासँगै पार्टी एकतामा आएका वीरेन्द्र बस्नेत पनि अध्यक्षको आकांक्षी छन्। झण्डै चार सय महाधिवेशन प्रतिनिधि एकता प्रक्रिया हुँदै आएकाले बस्नेत बलिया देखिएका छन्।

बस्नेतले आफ्ना दुई भाइ द्वन्द्वकालमा बेपत्ता रहेको र एकता महाधिवेशन भएकाले आफूलाई अध्यक्ष बनाउनुपर्ने बताइरहेका छन्। उनले आफ्नो योगदान र विद्यार्थी राजनीतिमा सक्रियतालाई ध्यान दिन माग गरिरहेका छन्।

मतदान हुने हो भने अनिल शर्मा बलियो देखिएका छन्। तर सहमतिको प्रयास भैरहेकाले मतदानको सम्भावना कमै रहेको अध्यक्षका प्रतिष्पर्धी रञ्जित तमाङले बताए।

‘नेताहरुको नाम बेचेर संगठनको नेता बन्ने भद्दा तरिका देखिएको छ’, तमाङले भने, ‘टिके प्रणाली अन्त्य गर्नुपर्छ। नातावाद कृपावाद अन्त्य गर्नुपर्छ।’

अखिल क्रान्तिकारीको महासिचवमामा भने सुरेन्द्र बस्नेत, राजेश्वरी सुवेदी, खेम सिंह र दिपेश पुन: दाबेदार छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.