विगतमा भएका समझदारी कार्यान्वयनमा जोड दिन परराष्ट्रविदको प्रधानमन्त्री देउवालाई सुझाव


परराष्ट्रविदहरूले भारतसँग विगतमा भएका समझदारी कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

परराष्ट्रविदहरूले नेपाल–भारतबीच पछिल्लो समय देखिएको असमझदारी हटाउन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदैछन् । परराष्ट्रविदहरूले मंगलबार प्रधानमन्त्री देउवासँग भेटगरी भ्रमणका क्रममा दुई मुलुकबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न जोड दिन सुझाएका हुन् ।

विगतमा भएका सहमति कार्यान्वयन गर्दै आपसी विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीलाई सुझाव दिइएको परराष्ट्रविद भेषबहादुर थापाले जानकारी दिए । उनले  दुई मुलुकबीचको गहिरो सम्बन्ध अनुसारको संवाद र सहकार्यको आवश्यकता पनि जोड दिइएको बताए।

परराष्ट्रविद लोकराज बरालले द्धिपक्षीय हितका विषयमा भ्रमण केन्द्रीत गर्न सुझाव दिइएको बताए । उनले तराई मधेशमा भइरहेको डुबान समस्या समाधान गर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको बताए ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिनुहुने परराष्ट्र मन्त्रालयले पनि जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.