सांसदहरुले बाढी र डुबान प्रभावितमा अझै पनि राहत नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
व्यवस्थापिका संसदको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारले केन्द्रमा घोषणा गरेको राहत वास्तविक बाढी र डुबान प्रभावितले नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद शेषनाथ अधिकारीले चितवनमा पनि बाढीले अरबौँ रुपैयाँको क्षति पुर्याएको भन्दै विशेष राहतको व्यवस्था गर्न माग गरे ।
भविष्यमा बाढी नआओस भन्नका लागि नारायण, राप्ती, रिउ, कायर खोला लगायतमा तटबन्ध गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । माडीलाई संकटग्रस्त क्षेत्र घोषणा गरी विशेष व्यवस्था गर्न माग गरे ।
एमाले सांसद माधव कुमार नेपाललले प्राकृतिक प्रकोपका कारण गाउँ / गाउँ सखाप हुने, व्यापारिक नाका ध्वस्त पार्ने गरेको भन्दै भु -उपयोग नितिका कुरालाई ध्यानमा राखी संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । नेपालको दक्षिण तर्फ भारतद्वारा निर्मित बाँध र तटबन्धका कारण बाढी आएको र त्यसले अरबौँको क्षति पुर्याएको भन्दै त्यसतर्फ गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद महेन्द्रराय यादवले विपत व्यवस्थापन ऐन बनाउनुको साथै चुरे संरक्षणमा विशेष पहल गरी सधैको लागि बाढीको समस्या समाधान गर्न तर्फ उद्त हुन सरकारको ध्यानाकर्षण गराए । बाढी प्रभावित मधेशको पुनर्निर्माणको लागि प्राधिकरण बनाउनुपर्ने माग पनि उनले गराए ।
सांसद महेन्द्रराय यादवले भारतीय बाँध र तटबन्धका कारण वर्षेनी नेपाल र नेपालीलाई समस्या परेको हो भने जलस्रोत र तटबन्धका बारेमा ठोस निति बनाउन प्रमुख दललाई आग्रह गरे। सधैँ भारतको नाममा आफ्नो राष्ट्रियता कमजोर पार्ने काम नगर्न पनि उनले सचेत गराए ।
बैठकको शून्य समयमा बोल्ने सांसदहरूले पनि पहाडमा पहिरो र तराईमा डुबानबाट प्रभावित जनताले अझै राहत पाउन नसकेको भन्दै तत्काल प्रभावितलाई राहत उपलब्ध गराउन माग गरे । सांसद शेर बहादुर तामाङले काठमाडौंबासीले शुद्ध पिउने पानी हक अधिकारको प्रत्याभूति गर्न पानीको मुहान लामटाङ र शिवपुरी क्षेत्रबाट जंगली सुंगुर हटाउन माग गरे ।
बैठक अहिले पनि चलिरहेको छ ।