यी हुन् प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्ने विषयहरु


मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा उठाउने विषयवस्तुहरुको टुङ्गो लगाएको छ।

प्रधानमन्त्री देउवा आउँदो ७ गते भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गर्दैछन्। नेपालले सबैभन्दा बढी प्राथमिकता भूकम्पपछि भारतले दिने भनेको पुनर्निर्माणको सहयोग प्राप्त नभएको विषयलाई दिने भएको छ।

सूचना तथा सञ्चार मन्त्री समेत रहेका सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले भ्रमणमा भारतले प्रतिबद्धता अनुसार गरेको रकम प्राप्त नभएको विषयमा छलफल हुने बताए।

त्यस्तै, लक्ष्मणपुर बाँध, कोशी बाँधका विषयमा समेत नेपालले प्रश्न उठाउने भएको छ।

‘लक्ष्णपुर बाँध कोशी बाँधको क्षति र नोक्सानी पनि छलफलका विषय बन्न सक्छ’, बस्नेतले मन्त्रिपरिषद् बैठकपछि भने, ‘कोशी बाँध बनाउँदा स्थानीय जनतालाई दिने भनिएको ५० करोड रुपैयाँ दिएको छैन। यो विषय उठ्छ।’

त्यस्तै, नेपालले १९५० को सन्धिको विषय समेत उठाउने भएको छ। त्यसको असर र प्रभावबारे छलफल हुने र सुपुर्दिगी सन्धीबारे पनि छलफल गर्ने बस्नेतले बताए।

त्यस्तै, नेपाल भारत रेल्वे सञ्चालनमा ल्याउने विषयमा समेत छलफल हुने उनले उल्लेख गरे। त्यस्तै, वाणिज्य, व्यापार लगानीका विषयमा छलफल हुने बस्नेतले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.