भदौ ८ गते देउवा–मोदी भेटवार्ता हुने


प्रधानमन्त्री शेरबहादुर देउवा भारतको  पाँच दिने राजकीय भ्रमणका लागि भदौ ७ गते दिल्ली प्रस्थान गर्ने छन्। पत्नी आरजु देउवा राणासहित नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर देउवा भारत जान लागेका देउवा राष्ट्रपति भवनमा पाहुना बन्ने छन्।

परराष्ट्र मन्त्रालयका अनुसार ८ गते बिहान उनको सम्मानमा दिइने ‘गार्ड अफ अनर’मा अवलोकन गर्नेछन्। त्यसपछि प्रधानमन्त्री देउवा राजघाटमा रहेको महात्मा गान्धीको समाधीस्थलमा गएर श्रद्धान्जली दिनेछन्। त्यही दिन उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेंकैया नयडुसँग छुट्टाछुट्टै भेट वार्ता गर्ने छन्।

सोही दिन प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ। प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले सोही दिन दिवाभोजको आयोजना गर्नेछन्। दिल्लीमा रहँदा देउवाले भारतीय बुद्धिजिवी र  उद्यमीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा प्रधानमन्त्री देउवा भारतीय राज्यहरू तेलंगना, आन्द्रप्रदेश र बिहार पनि जाने जानकारी दिएकोछ। ती राज्यको कुन ठाउँमा के कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सहभागी हुने भन्ने खुलाएको छैन।

उनी ११ गते स्वदेश फर्कने कार्यक्रम छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.