सम्पत्ति शुद्धीकरण विभागले चारवर्ष अघि अवैध सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा चलाएका दिपक मनाङेलाई विशेष अदालतले सफाइ दिएको छ।
विभागले मनाङेविरुद्ध १४ करोड ७३ लाख रुपैयाँ अवैध क्रियाकलापबाट गैरकानूनी सम्पत्ति जोडेको भन्दै मुद्दा दर्ता गरेको थियो।
न्यायाधीश पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले मनाङेलाई सफाइ दिएको हो।
चारवर्ष अघि मनाङे सहित गणेशलामा, परशुराम बस्नेत, चक्रे मिलन, अभिषेक गिरी र उनीहरुका श्रीमतिलाई विभागले अवैध सम्पत्ति जोडेको अभियोग लगाएर विशेषमा मुद्दा दर्ता गरेको थियो।
पाँचैजना विरुद्ध विभागले दर्ता गरेको मुद्दामा अवैध बैंकिक कारोबार, घरजग्गा खरीद विक्री, बीमा, सवारी साधन खरीद विक्री लगायत आरोप थिए। मुद्दामा लामाको २७ करोड एक लाख, मनाङेको १४ करोड ७३ लाख, बस्नेतको ११ करोड ६१ लाख, चक्रेको ७ करोड ८ लाख र गिरीको २ करोड ९४ लाख रुपैयाँ अवैध भएको भन्दै बिगो जफत गर्न त्यति नै जरिवाना तिराउन र १ देखि ४ वर्ष कैद सजाय तोक्न माग गरिएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ४ वर्ष लगाएर डनहरूको अवैध सम्पत्तिबारे अनुसन्धान गरेको थियो भने सम्पत्ति शुद्धीकरण विभागले डेढ महीनाको प्रतिवेदन अध्ययनपछि विशेषमा मुद्दा दर्ता गरेको थियो।
अन्य अभियुक्तहरुको मुद्दामा भने फैसला हुन बाँकी छ।