स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अाइतबार महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४ सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन् ।
बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएको जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उनले यहाँका सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचारमा २४सै घण्टा खट्न निर्देशन दिएका हुन् ।
मन्त्री पोखरेलले जिल्लाका बाढीपीडितका गाउँठाउँमा चिकित्सक र औषधिसहितको टोली पुगेर जनताको स्वास्थ्यको अभिभारा उठाउन र रोग तथा महामारी फैलन नदिन पनि सुझाव दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयको भण्डारमा रहेका औषधि, आकस्मिक कक्षलगायतका स्थलगत निरीक्षणपश्चात् उनले चाँडै यस अस्पतालको शैय्या थप्ने, भवनअनुसारको र चिकित्सक सहितको अन्य स्वास्थ्यकर्मी पठाउने प्रतिबद्धतासमेत प्रकट गरे।
महोत्तरी जिल्ला अस्पताल अहिले २५ शैय्याको भएपनि चिकित्सकभने दुई/तीन जना मात्रै छन् । रासस