नयाँ शक्तिका नेता देवेन्द्र पौडेल माओवादीमा सधैंभरी बाबुराम भट्टराईलाई साथ दिने नेता हुन्। पछिल्लो ३८ वर्षदेखि उनी नेता भट्टराईसँगै छन्। उनी भट्टराईसँगै नयाँ शक्तिमा पनि सामेल भए। केही समयदेखि भने उनी माओवादीसँग एकता गर्नुपर्ने पक्षमा उभिएका छन्, त्यही कारणले संयोजक भट्टराईसँग उनको मतभेद बढ्दै गएको छ। छुट्टै पत्रकार सम्मेलन गरेको विषयमा संयोजक भट्टराईले उनीसँग स्पष्टिकरण समेत सोधेका छन्।
नयाँ शक्तिभित्र चलिरहेका यीनै मतभेदलाई लिएर सेतोपाटीका लागि रोहेज खतिवडाले नेता पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश।
पछिल्लो समय नयाँ शक्ति भित्र तपाईंहरू र संयोजक बाबुराम भट्टराईबीच मतभेद बढेको देखिन्छ। यसलाई तपाईंहरूको अलग्गै गर्नुभएको पत्रकार सम्मेलनदेखि संयोजक भट्टराईले सोध्नुभएको स्पष्टिकरणसम्मले पुष्टि गर्छ। के भएको हो?हार्दिक होटलमा हामीले पत्रकार सम्मेलन भनेर गरेको होइन। कुनै पनि राष्ट्रिय स्तरका पत्रिका टेलिभिजन कसैलाई हामीले बोलाएका छैनौं। दुई तीन अनलाईनका दुई तीन जना साथीहरू बोलाएका थियौं। उहाँहरूबाटै खबर पाएका केही साथीहरू थपिनु भयो। र, दश पन्ध्र जना भएपछि त्यहाँ पत्रकार सम्मेलन जस्तैनै भयो।
नयाँ शक्तिको दृष्टिकोण अलि अन्योल जस्तो भयो। पार्टीभित्रको विचार मन्थन बाहिर पनि राख्दै जाँऊ भनेर यसरी भेला भएका थियौं। नयाँ शक्ति कुन वर्ग, कुन समुदायको स्वामित्व ग्रहण गर्ने समाजवाद चाहान्छ भन्ने अलि छिचोल्नु पर्छ। संसारमा भइरहेका आन्दोलन, कतिपय राष्ट्रभित्रका अन्तरविरोधबारे पनि हाम्रो धारणा निर्माण गर्नुपर्छ। खासगरी हामी कसको निम्ति काम गर्ने, जनताको हित कसरी हुन्छ? भन्ने पनि अलि खुला भएर भन्न पर्छ। हामी धनी पूँजिपति वर्गका लागि काम गर्ने कि गरीब मजदुर किसान उत्पीडितका लागि काम गर्ने? हामीले यी विषयमा छलफल चलाएका थियौं। यो पत्रकार साथीहरूमार्फत यो विषय थोरै संकेत मात्रै गरेका हौं।
यो विषयलाई लिएर उहाँले २४ घण्टे अल्टिमेटमसहितको पत्र काट्नु भएको थियो। त्यो स्पष्टिकरणको कुनै बैधानिकता नै छैन। बाह्रतेह्र जना बसेर हामी बीसबाइसजनालाई पत्र काट्नु भएको छ। बाबुराम भट्टराईलाई संयोजक मानेर हामीले ताली हानेको हुँदा मात्रै हामीले पत्रको जवाफ फर्काएका हौं। नत्र त्यो पत्र काट्ने बैधता कमिटीसँग छैन। विधानको ड्राफ्ट मैले नै गरेको हो।
हामी त्यही पार्टी भित्र छौं, हामीले पार्टी छोडेका छैनौं। उहाँले हामीले उठाएका विषय कमिटीमा छलफलमा लैजान सक्नुपर्थ्यो।
तैपनि डा.भट्टराईलाई संयोजक मानेको हुँदा हामीले पत्रको जवाफ दिएका छौं। अब के गर्ने भन्ने उहाँको कुरा हो।
सोमबार पनि बाबुरामजीसँग भेटेर कुरा गर्यौं।
'हामीले उठाएको विषय तपाईंको हितका लागि हो, कुनै मन्त्री, सांसदको पद पाउनका लागि विल्कुलै होइन। तपाईंको व्यक्तित्व राष्ट्रिय राजनीतिमा आवश्यक छ। एक्लै भए पनि उभिन्छु भन्ने तपाईंको 'स्पिरिट'प्रति सम्मान छ। तर राजनीतिले शक्ति केन्द्र पनि खोज्छ, ट्याक्टिस पनि खोज्छ। विचार मिल्नेसँग सहकार्य र एकता पनि खोज्छ। सबैलाई बराबर मानेर म मात्रै हिड्छु भनेर एक्लै परिन्छ। एक्लै नपर्नुस्, तपाईंको एजेन्डा टेबुल गर्ने विधि खोजौं।' हामीले सोमबार उहाँलाई भनेको यही हो। हामीसँग उहाँले सकारात्मक रूपमा लिएको छु भन्नुभएको छ।
प्रश्न: नयाँ शक्ति पार्टी निर्माणको अहिलेसम्मको गति, स्थानीय तहको दुई चरणको निर्वाचनमा भोगेको विफलता र संघीय समाजवादी फोरमसँगको एकता प्रयासको विफलताका समीक्षापछि यस्तो निष्कर्षमा पुग्नुभएको हो?असफल नै भयो त भन्ने हाम्रो निष्कर्ष होइन। संघीय समाजवादी फोरमसँगको एकता पनि विभिन्न ध्रुवीकरणको प्रसंगमा अत्यन्तै सचेततापूर्वक म आफैं पनि लागेको हूँ।
बाबुरामजीले माओवादी छोडेर आएपछि सानातिना पार्टी र पार्टीबाहिर रहनुभएका केही व्यक्तिहरूलाई लिएर एउटा पार्टीको आकार दिएका थियौं। यसलाई अझ घनत्वमा गरौं भनेर हामीले फोरम नेपालसँग एकताको कुरा अगाडि बढायौं। नेतृत्व र नामका बारेमा अलि अप्ठ्यारो परेको थियो।
वैकल्पिक राजनीति गर्ने भएकाले नयाँ र फरक किसिमको नाम राखौं, अनि राष्ट्रिय राजनीतिमा बाबुराम भट्टराईको भूमिका र व्यक्तित्वलाई हेरेर पार्टीमा पहिलो पोजिसन उहाँलाई दिउँ भन्ने कुरा हामीले दृढतापूर्वक राख्यौं। बाबुराम भट्टराईलाई पहिलो प्रोटोकलमा राख्ने कुरामा उहाँहरू सहमत हुनुहुन्थ्यो। तर डा. भट्टराई संयोजक र उपेन्द्र यादवजी अध्यक्ष हुने हो भने अधिकारको बाँडफाँड कसरी गर्ने भन्नेमा छलफल चलिरहेको थियो। उहाँले(बाबुराम भट्टराईले) निर्णयको स्वामित्व कसरी लिने र संरक्षण कसरी गर्ने भन्नेमा मैले नै छ वटा बुँदा राखेको थिएँ। मैले नै ड्राफ्ट गरेको विधानमा यो विषयका १० बुँदा थिए, जसमध्ये ६बुँदा मैले नै राखेको हुँ।
तर, दुर्भाग्यवश यो एकिकरण हुन सकेन।
मलाई लागेको के हो भने उहाँहरू(फोरम नेपाल पक्ष) पनि अलि लचिलो भएर प्रस्तुत हुन सक्नुपर्थ्यो र बाबुराम भट्टराईजीले अलि आत्मविश्वासका साथ प्रस्तुत हुन सक्नुपर्थ्यो।
अब न मधेस हाम्रो हातमा हुने, न पहाड हाम्रो हातमा हुने, न बरिष्ठ बुद्धिजीवीको ठूलो हाम्रो हातमा हुने। यसरी त 'आइसोलेसन'मा परिन्छ। पहाडमा यसै पनि प्रश्न उठेकै थियो भने मधेसका १५-२० जिल्लामा केही सिट जित्ने गरी एउटा आधार बनाएर राष्ट्रिय राजनीतिमा जानुपर्छ भन्ने मेरो धारणा हो। अझै पनि यो एकता हुनुपर्छ भन्ने पक्षमा म छु।
बाबुरामजीलाई फोरमसँग एकता गर्नुभयो भने वैकल्पिक शक्तिको तपाईंको अवधारणा गुम्छ भनेर केही साथीहरूले सुझाव दिनुभएको थियो। यी किसिमका छलफलले उहाँलाई प्रभाव पारेको होला। उपेन्द्र जीलाई पनि उहाँको पार्टीभित्रको छलफलले प्रभाव पारेको होला। त्यसैकारण एकता हुन सकेन।
हामीले नामै किटेर भनेका छौं, बाबुराम भट्टराई, प्रचण्ड, किरण, उपेन्द्र यादव, आदिवासी जनजाति, मधेसी राजनीतिमा रहनुभएका अरू साथीहरूसँग ध्रुवीकरणमा जानु पर्छ।
प्रश्न: मैले तपाईंलाई सोधेको प्रश्न, नयाँशक्तिको अहिलेसम्मको सफलता/असफलताको समीक्षा गरेर यो ध्रुवीकरण र एकताको पक्षमा पुग्नुभएको हो भन्ने थियो।म फेरि भन्छु, असफलता नै होइन। तर, तीनवटा चुनाव सामना गर्न के गर्ने भन्ने निकास राजनीतिज्ञले दिन सक्नुपर्छ। गैरराजनीतिक मुद्धाहरू उठाउने र छलफल मात्रै गर्ने पार्टी बनाउने हो भने चुनावलाई हामीले मतलब राख्नु हुँदैन। राज्यमा यसको उपस्थिति जरूरी छैन, भए पनि ठीकै छ नभएपनि ठीकै छ भन्ने हो भने त्यो अर्कै कुरा भयो।
हाम्रा लागि चुनावमा कसरी जित्ने, कोसँग सहकार्य र तालमेल गर्ने, राज्यमा हाम्रो उपस्थिति कसरी हुन्छ भन्ने महत्वपूर्ण प्रश्न हुन्। अब कानुनमा थ्रेस होल्डको व्यवस्था छ। लगभग पाँच लाख मत र एकसिट नल्याई राष्ट्रिय पार्टी बन्नै सकिँदैन। प्रदेशमा समेत थ्रेसहोल्ड छ।
त्यसकारण, निर्वाचनको यो एम्बुसलाई हामीले फेस गर्न सकेनौं भने हाम्रो पार्टी पाँच वर्ष अझै पछि पर्छ। उमेरको हिसाब र परिस्थितिका कारण पनि बाबुरामजीसँग एजेण्डा कार्यान्वयन गर्ने अवसर हुँदैन। यसका लागि त उहाँ आफैंले नेतृत्व गर्ने हो। नेतृत्वमा आउन ध्रुवीकरणका लागि उहाँले पहल गर्नुपर्यो। यसैकारण फोरमसित एकताको कुरा चलेको हो।
मेरो विचारमा माओवादी केन्द्रसित पनि एकताको कुरा गर्नुपर्छ। उहाँहरू आफ्नो नाम, शैली, चुनावचिन्ह छोडेर, पुनर्गठनका लागि पार्टी भङ्ग गरेर आउनुहुन्छ भने एकता गर्नुपर्छ भनेर बाबुरामजीलाई भनेको हो। आत्तिएर भन्दा पनि सबैकुरा समीक्षा गरेरनै यी भनेको हो।
प्रश्न: त्यसोभए नयाँशक्तिको अहिलेसम्मको यात्रालाई तपाईंले कसरी समीक्षा गर्नुभएको छ?यसका तीन सफलता मैले बुझेको छु। पहिलो, नेपाली जनताले अधिकार प्राप्त गर्न गर्नुपर्ने आन्दोलन आंशिक बाँकी नै रहे पनि विकास र समृद्धी मुख्य हो भन्ने बाबुरामजीको प्रस्ताव अहिले राष्ट्रिय एजेण्डा बनेको छ। सबै पार्टीले नाराकै रूपमा भए पनि यसैलाई बोकेर हिडेका छन्। यो सबैभन्दा महत्वपूर्ण उपलब्धि हो।
दोस्रो, बाबुराम भट्टराईजीकै नेतृत्वमा देशैभरी नयाँशक्ति पार्टीको संरचना बन्यो।
तेस्रो, विभिन्न विचारधारा र पृष्ठभूमिका साथीहरू माझ बसेर छलफल भएको छ, एउटा नयाँपनको महशुस भएको छ।
साथै मैले केही कमजोरीलाई पनि गम्भिरतापूर्वक लिएको छु।
जनताले अझै पनि वैकल्पिक शक्तिलाई मत प्रदान गर्नुपर्ने हो, त्यो भएन। बाबुराम भट्टराईको परिचित व्यक्तित्व हुँदाहुँदै पनि त्यसलाई मतमा बदल्न सकिएन। मैले निराश भएर भनेको होइन, यथार्थ यही देखियो।
आन्दोलनका उपलब्धिहरूको स्वामित्व लिने कुरामा धैर्यता नगरी बाबुरामजी अलि पर पुग्नु भयो भन्ने मत नेपाली समाजमा गहिरोगरी बसेकोछ। यो विषयमा समीक्षा गर्नुपर्छ।
प्रश्न: 'परिवर्तनकारी शक्तिहरु' कमजोर भए भन्ने तपाईंको निष्कर्ष हो?हो। गणतन्त्रका पक्षमा हामीले सबभन्दा बढी आन्दोलन गर्यौं, संघीयता र धर्मनिरपेक्षता ल्यायौं। कांग्रेस-एमाले लगातयका साथीहरू ६२-६३को जनान्दोलनमा आउनुभयो। तर, यो हामीले उठाएको एजेन्डा थियो। संघीयता संविधानमा अभिव्यक्त गर्ने बेलामा मधेस आन्दोलन भयो। केही जनजाति र उत्पीडितका आन्दोलन पनि भए। उनीहरूका एजेन्डा नै आज राष्ट्रिय राजनीतिका मुल मुद्धा हुन्।
मुलत: पछिल्लो दुई दशकमा सघनतापूर्वक मुद्दाहरु उठान गरेको माओवादी आन्दोलनले नै हो। त्यसकारण माओवादी आन्दोलनका विभिन्न धारा, मधेस आन्दोलनका देशभक्ति प्रकृति भएका धारा, जनजाति आन्दोलन र उत्पीडित आन्दोलनका धाराहरुलाई एक ठाउँमा ल्याएर तेस्रो ध्रुव बनाउनु आवश्यक छ। एउटा ध्रुवमा कांग्रेस, अर्कोमा एमाले र तेस्रोमा यी शक्तिहरू समेटिएको शक्ति उदाउनु पर्छ। यति नगरी आउने दिनमा न बाबुरामजीको हित छ, न प्रचण्डजीको हित छ, न उपेन्द्रजी नै कहिँ पुग्नुहुन्छ।
त्यसैले सकिन्छ भने पार्टी एकिकरणमा जानु पर्छ। नभए चुनावी तालमेल भए पनि गर्नुपर्छ। आग्रहपूर्वाग्रहभन्दा माथि उठेर सँगै जानुपर्छ र मात्रै त्यो 'ग्राउण्ड'को रक्षा हुनसक्छ।
प्रश्न: केही समय यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संयोजक भट्टराईबीच भेट पनि भएको छ। तपाईंहरू पनि माओवादी नेताहरूसँग निरन्तर छलफलमा हुनुहुन्छ। माओवादीसँग एकता वा कार्यगत एकतामा गइहालौं भन्ने तपाईंहरूको प्रस्ताव हो?डा.बाबुराम भट्टराई बिरामी भएको बेला मानवीय हिसाबले प्रचण्ड भेट्न जानुभयो। त्यसपछि आराम गर्न बस्नुभएको बेला पनि भेट्न जानुभयो। यो भन्दा अघि नै एकताको प्रस्ताव लिएर प्रचण्ड कहाँ जानुहोस् भनेर हामीले बाबुरामजीलाई भनेका थियौं।
हामी उपेन्द्र यादवजीसँग सँगै दिनहुँ वार्तामा थियौं। हामीबाहेक प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा उभिने उहाँ र प्रचण्डजी नै हो। त्यसो हो भने दुवैसँग छलफल किन नचलाउने भनेका थियौं।
पछिल्लो समय प्रचण्डजीले पार्टीको तर्फबाट यो कुरा सार्वजनिक गर्नुभयो। बाबुरामजीसँग पनि यही विषयमा छलफल भयो होला। मिलेर जानुको विकल्प छैन भन्ने उहाँको कुरा छ। बाबुरामजीले पनि म तयार छु भन्नुभएको छ। त्यसो हो भने तपाईंहरूको नाम, शैली फेरेर आउनुस् भन्नु भएको छ। यो भयो भने सहज हुन्छ।
हामीले पनि भेटेका छौं, अनौपचारिक रूपमा। अब ध्रुवीकरण र एकिकरणको पक्षमा जानुपर्छ भन्ने हामीलाई लागेको छ। हामी यो अभियानमा छौं।
प्रश्न: तपाईंहरूको यो प्रयत्नप्रति संयोजक भट्टराई त्यति सकारात्मक देखिनुभएको छैन। उहाँ सकारात्मक हुनुभएन र माओवादीसँग एकिकरण हुन सकेन भने तपाईंहरू माओवादी फर्कनुहुन्छ?यो इतिहासको आवश्यकता हो। हामी आशा गरौं। डा.बाबुराम भट्टराईको व्यक्तित्वसँग हामीलाई प्रतिस्पर्धा गर्नु छैन। राष्ट्रिय राजनीतिमा उहाँको उपस्थितिको निम्ति हामीले यो कुरा उठाएका हौं। अब उहाँले नै निर्णय गर्ने हो। उहाँले सुन्नुभएन भने हामी व्यक्तिगत रूपमा उहाँलाई सहयोग गर्छौं। तर, उहाँले पनि यो बुझ्नुपर्छ कि यसैगरी अगाडि बढ्नुभयो भने राष्ट्रिय राजनीतिमा बाबुराम भट्टराई उपस्थित हुन गाह्रो पर्छ। हामीले बुझेको यति नै हो।