तीन महिनामै म्याक्रोनको लोकप्रियता ३६ प्रतिशतमा झर्‍यो


राजनीतिमा आएको वर्ष दिनमै फ्रान्सको राष्ट्रपति निर्वाचित भएका इमायुल म्याक्रोनको हनिमुन अवधि पनि सुखद रहन सकेन। कार्यभार सम्हालेको १०० दिन पुग्दा म्याक्रोनको लोकप्रियता ह्वात्तै घटेको छ।

तीन महिनाअघि ६५ प्रतिशत मत ल्याएर राष्ट्रपति निर्वाचित भएका म्याक्रोनको कामप्रति अहिले ३६ प्रतिशत फ्रान्सेली मतदातामात्र सन्तुष्ट रहेको एक सर्भेक्षणले देखाएको छ। गत जुनमा ५४ प्रतिशत फ्रान्सेलीले म्याक्रोनको कामबाट सन्तुष्ट भएको बताएका थिए।

फ्रान्सका राष्ट्रपतिमध्ये म्याक्रोन सबैभन्दा छिटो लोकप्रियता ओह्रालो लाग्ने राष्ट्रपति भएका छन्। यो अवधिमा पूर्वराष्ट्रपति फ्रान्स्वा हल्यान्डको लोकप्रियता ५५ प्रतिशत थियो भने अर्का राष्ट्रपति निकोलास सार्कोजीको लोकप्रियता ६६ प्रतिशत थियो।

सय दिनमा म्याक्रोनले गरेका कामका आधारमा भन्दा उनको व्यवहारले मानिसहरूमा नकारात्मक प्रभाव परेको सर्भेक्षणले देखाएको छ।

फ्रान्सेली सशस्त्र बलका प्रमुखसँग सार्वजनिक रूपमा उनले दिएको अभिव्यक्तिलाई धेरै फ्रान्सेलीले मन पराएनन्। सशस्त्र बलको बजेट बढाउनेबारे उनीहरूबीच विवाद भएको थियो। पछि सशस्त्र बलका प्रमुख पियरे डी भिलियर्सले राजीनामा दिएका थिए।

उनको लोकप्रियता घट्नुको अर्को कारण सामाजिक सुरक्षामार्फत दिइने अनुदानमा कटौती हो। उनले आगामी अक्टोबरदेखि लागु हुने गरी त्यस्तो अनुदानमा मासिक ५ युरो कटौती गर्न निर्णय गरेका छन्।

उता सामाजिक सुरक्षाका लागि गर्नुपर्ने योगदानमा भने उनले वृद्धि गरेका छन्। यसले पनि म्याक्रोनप्रति धेरै मतदाता असन्तुष्ट बनेका छन्।

म्याक्रोन गत मेमा फ्रान्सका राष्ट्रपति निर्वाचित भएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.