व्यवस्थापिका संसदको विशेष समयमा यी विषय उठान गरे सांसदहरुले


सांसदहरुले सीमा क्षेत्रमा भारतले बनाएको बाँध तथा तटबन्धका कारण नेपालले हरेक वर्ष बाढी र डुबानको समस्या झेल्नुपरेको भन्दै भारतीय पक्षसँग क्षतिपूर्तिका माग गर्नुपर्ने आवाज उठाएका छन् ।

बुधबारको व्यवस्थापिका संसदको विशेष समयमा बोलेका अधिकांश सांसदहरुले भारतीय पक्षबाट नेपालको सीमा क्षेत्रका विभिन्न स्थानमा निर्माण गरिएको बाँध तथा तटबन्धका कारण तराईका अधिकांश क्षेत्र डुबानमा परेको भन्दै भारतपक्षसंग क्षतिपुर्ति माग गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद अष्टलक्ष्मी शाक्यले ऐन अभावमा काम गर्न समस्या भएको नभई राष्ट्रियताको भावना कमजोर भएकाले समस्या उत्पन्न भएको दाबी गरिन् । सांसद अनुराधा थापाले नेपालको सिमा क्षेत्रमा अन्तराष्ट्रिय मापदण्ड विरुद्ध भारत सरकारले कयौँ बाँध र तटबन्ध बनाएको भन्दै त्यसले नेपाल र नेपालीमा पुर्‍याएको क्षति भारत सरकारबाट भराई त्यस किसिमका अवैध बाँध र तटबन्ध विरुद्ध न्याय खोज्न सरकारको ध्यानाकर्षण गराए । सांसद रुक्मिणी चौधरीले बाढी र डुबानको दोष अरुलाई दिनुभन्दा आफैँलाई हानी पुग्ने गरी सन्धि संम्झौता गर्ने नेता र राजनितिक दलले जिम्मेवारी लिनुपर्ने तर्क गरिन् ।

यसका साथै, नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले साधन स्रोतको समुचित व्यवस्था गरी तत्काल विस्थापित परिवारका लागि राहत प्याकेज सहित अस्थायी वासस्थानको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा नेकपा एमालेका सांसद राजन भट्टराईले प्रधानमन्त्रीको निर्देशनपछि पनि राजधानीका सडकको अवस्था ज्यूका त्यूँ रहेको भन्दै ठूला आयोजनाका नाममा कार्यालय खोलेर बस्ने तर काम नगर्ने प्रवृति प्रति सरकारको ध्यानाकर्षण गराए ।

बाढीपीडितका पक्षमा सांसदहरू के भन्दैछन्- LIVE

Posted by Setopati on Wednesday, 16 August 2017

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.