बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले रामचन्द्र झा र रामकुमार शर्मालाई पार्टीबाट निष्काशित गरेको छ। नेकपा एमाले छाडेर नेकपा माओवादी हुँदै भट्टराईसँगै नयाँ शक्ति पुगेका झा अन्तत: माओवादी फर्कन लागेका हुन्।
झा र शर्मालाई नयाँ शक्तिले साउन २७ गते स्पष्टिकरण सोधेको थियो। तर उनीहरुले जवाफ फर्काएका थिएनन्। स्पष्टिकरण नबुझाएपछि नयाँ शक्तिका संयोजक भट्टराईले टेलिफोन गरेर झालाई पार्टीमा रहने वा नरहने विषयमा स्पष्ट पार्न आग्रह गरेका थिए। जवाफमा झाले पार्टी छाड्ने जानकरी गराएका थिए।
नयाँ शक्तिले विज्ञप्तिमार्फत् पार्टी विरोधी गतिविधि गरेको र स्पष्टिकरण नदिएको भन्दै संघीय परिषद् सदस्य सहित सबै जिम्मेवारीबाट हटाइएको जनाएको छ।
नयाँ शक्तिका नेता केशव दाहालले भने उनलाई कारवाही गरेको नभई पार्टीबाट बिदाई गरेको बताए।
'झाले नयाँ शक्ति पार्टी बन्न समय लाग्ला। उमेरले पनि साथ दिदैँन। आठ दश वर्ष युवाहरुले पर्खन सक्नुहोला। मेरो पर्खने समय पनि छैन। चुनाव जित्न समय लाग्छ भन्नुभयो। खुल्ला कुरा राखेर छाड्नुभयो', दाहालले भने, 'हामीले त्यसो भए मनपरेको ठाउँमा जानुस् भन्यौँ।'
झा एमाले फर्कने चर्चा चले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले झालाई भित्र्याउने अनिच्छा देखाएका थिए। उनी अब माओवादी फर्कन लागेका हुन्। माओवादीका नेता मातृका यादवले झालाई पार्टीमा भित्र्याउने वार्ता गरेका हुन्।
सम्बन्धित समाचार : ओलीले ‘रेस्पोन्स’ नगरेपछि दाहाल निवासमा रामचन्द्र झा