पीडितलाई तत्काल उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन

पीडितलाई तत्काल उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन


व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण देशका विभिन्नमा भागमा दर्जैनौंको ज्यान समेत गएकोमा गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । बाढी, पहिरो र डुबानबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति जुठबहादुर टुहुँरे खड्गीले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले बाढी, पहिरो र डुबान पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । उनीहरुले वर्षा लगातार आउने सूचना मौसम पूर्वानुमान शाखाले दिएपनि सरकारले त्यसबाट हुने क्षति न्यूनिकरणका लागि सतर्कता नअपनाएको भन्दै सरकारको आलोचना समेत गरेका छन् । समितिका सदस्यहरुले भारतीय बाँधका कारण नेपाली भूमि बढी डुबान भएको दाबी गर्दै तत्काल हवाई गस्ती गरी त्यहाँको अवस्थाबारे अध्ययन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

केहीदिन यताको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले देशका विभिन्न भागमा ठूलै धनजनको क्षति भएको छ । सरकारले हालसम्म क्षतिको एकीन विवरण भने सार्वजनिक गर्न सकेको छैन ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.