प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भारतीय सीमावर्ती क्षेत्रमा नेपालको नब्बे प्रतिशतभन्दा बढी भूभाग डुबान हुनुको कारण तत्काल खोजी गर्न सरकारसँग माग गरेको छ ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय सीमावर्ती क्षेत्रमा बाँधिएको बाँध र तटबन्धका कारण नेपालको तराई/मधेशको डुबान समस्या झनै बढेर गएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सरकारलाई सचेत पनि गराए ।
आइतबार व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा बोल्दै उनले झापादेखि कञ्चनपुरसम्म भारतीय सीमावर्ती क्षेत्रमा नेपालको ९० प्रतिशत भूभाग वर्षेनी डुबानमा पर्दा पनि सरकार चुप लागेर बस्न नमिल्ने चेतावनी दिए । उपाध्यक्ष रावलले भारतीय सीमावर्तीमा हुने गरेको डुबानका कारण जनताले ज्यानै समेत गुमाउन परेको पीडालाई तत्काल सम्बोधन गर्न सरकारले सो सम्बन्धमा छानबिन गर्न समितिनै गठन गर्नुपर्ने माग समेत गरे ।
उपाध्यक्ष रावलले भारतीय सीमावर्ती क्षेत्रमा डुबान हुने समस्या वर्षेनी बढेर गएको विज्ञहरुको अध्ययण प्रतिवेदनले देखाएको दाबी गर्दै त्यसलाई अध्ययन गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराए । शुक्रबारयता लगातारको वर्षासँगै आएको बाढीका कारण तराई/मधेशमा दर्जनौको ज्यानै गएको छ ।