वाणिज्य मन्त्री मीन विश्वकर्माले यति बेला विपद् व्यवस्थापन सरकारका लागि चुनौती बनेको बताएका छन् ।
भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले लगातार वर्षाका कारण तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेको अवस्थामा सरकारले सोचेजस्तो विपद् व्यवस्थापन गर्न नसकेको अवस्थालाई लक्षित गर्दै आज बस्ने मन्त्रीपरिषद्को बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताएका छन् ।
कोसी ब्यारेजका केही ढोका खुल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै सबै ढोका खुल्दा भारतको बिहार डुबानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले विपद्का बेला सोचेर मात्र काम गर्नु पर्नेमा उनले जोड दिए ।
लगातार वर्षाका कारण पहाड र तराई प्राकृतिक प्रकोपको चपेटामा परेको अवस्थाका कारण तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने अवस्था सृजना भएता पनि सरकारले विभिन्न चुनौतिका माझ निर्वाचन सम्पन्न गर्ने उनले बताए ।
माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संवैधानिक संकटको अवस्था देखिने भन्दै उनले भने,‘यो सरकारले हचुवाको भरमा संसद र प्रदेशको निर्वाचन मिति घोषणा नगर्ने र निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने छ ।’
संसद र प्रदेशको निर्वाचन एकै पटक गर्दा चार गुणा बढी जनशक्तिका साथै भौतिक साधनको आवश्यकता पर्ने भएको तर्फ निर्वाचन आयोगले निर्णय दिन नसकेको र सरकारले कसरी एकै पटक दुवै निर्वाचन गर्न सकिन्छ भनि निर्वाचन आयोगसँग गरेको परामर्शमा निर्वाचन आयोगले कुनै निर्णय गर्न नसक्दा अन्यौलता बढेको उनले बताए ।
संविधान संशोधनको विषयमा नेपाली काँग्रेसले सकेसम्म पास गराउने उद्देश्यका साथ विपक्षी दलहरुसँग छलफल तीव्र रुपमा गरिरहेको र यस्तो अवस्थालाई ध्यान दिँदै राजपाले भाग लिनुपर्ने र संशोधनलाई पास गराउनु संशोधनको पक्षमा दुई तिहाई पुर्याउने वातावरण बनाउनेतर्फ अग्रसर हुनु पर्नेमा उनले जोड दिए ।
वर्तमान सरकार दुवै छिमेकी देशसँग सम्बन्ध सुधार लागि अग्रसर रहेका बेला प्रधानमन्त्रीको भारत भ्रमण बिग्रिएको सम्बन्ध सुधार र व्यापार घाटाकाबारे छलफल हुने र चीनका उपप्रधानमन्त्रीको टोलीले गर्ने नेपाल भ्रमण नेपाल र नेपालीको हितानुकुल रहने उनले बताए ।