राष्ट्रिय जनता पार्टी नेपालको आग्रहमा सरकारले संविधान संशोधन विधयेक मंगलबार मतदानका लागि संसदमा पेस गर्ने भएको छ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राजपा शीर्ष नेताहरूबीच बालुवाटारमा भएको छलफलपछि सरकारले संशोधन प्रस्ताव अगाडि बढाउन लागेको हो। बैठकमा राजपा नेताहरूले पास फेल जे भएपनि सरकारले संशोधन विधयेक संसदमा पेस गर्न आग्रह गरेका थिए।
लामो समयसम्म राजपाले सरकारले जसरी पनि संशोधन पास गराउनै पर्ने माग गर्दै फेल हुने अवस्थामा प्रस्ताव अगाडि बढाउन नहुने अडान लिएको थियो।
तेस्रो चरणमा असोज २ गते २ नम्बर प्रदेशमा हुने चुनावमा भाग लिने मनस्थिति बनाएको राजपाले संशोधन प्रस्ताव मतदान लिएर टुंगो लगाउन चाहेको हो।
शुक्रबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजपाका नेता शरदसिंह भण्डारीले भने-यो एउटा गेम हो पास फेल जे पनि हुन सक्छ। पास हुन्छ भन्ने विश्वास छ। यदि कसैले अधिकारको यो लडाइँलाई फेल गराउँछ भने हामी त्यही मुद्दा लिएर जनतामा जान्छौं।
यसअघि प्रधानमन्त्रीलाई अनौपचारिक रूपमा भेटेर राजपा नेताहरु संशोधन प्रस्ताव चाँडो अघि बढाउन आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले भदौ दोस्रो हप्ता हुने आफ्नो भारत भ्रमणपछि मात्रै संशोधन विधयेक संसदमा पेस बताएका थिए।
बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाल आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले हिजो नै प्रधानमन्त्री देउवा र राजपाका नेताहरूसँग छुट्टाछुट्टै भेट गरेकी थिइन्।
राजपा नेताहरूले देउवाको भारत भ्रमणपछि असोज २ गते हुने चुनावको लागि आफूहरूलाई समय कम हुने भन्दै त्यो प्रक्रिया चाँडै सकिनुपर्ने बताएपछि आइतबार नै विधेयक संसदमा पेस हुन लागेको हो।
राजपाका महासचिव केशव झाले केही दिनअघि भएको केन्द्रीय समिति बैठकको म्यान्डेट र बिहीबार स्थानीय तह थप्नेबारे सर्वोच्चले गरेको निर्णयलाई पनि हेर्दा यो प्रक्रियालाई धेरै लम्ब्याउनु हुन्न भन्ने पक्षमा आफूहरू पुगेको बताए।
'संशोधन पास फेल जे भएपनि चुनावमा जानुपर्छ भने केन्द्रीय समितिको म्यान्डेट थियो, दुई नम्बरमा स्थानीय तह थप्न सर्वोच्चले गरेको सकारात्मक निर्णयले पनि हामीलाई चुनावमा जाने वातावरण बनायो,' झाले भने, 'चुनावमा जाने नै भएपछि प्रधानमन्त्रीले भारत भ्रमण सकेर आउन्जेलसम्म हामीले जनतामा जाने समय पाउने भएकाले यसलाई चाँडै सकौं भन्ने निष्कर्षमा पुगेका हौं।'
यसअघि वैशाख १७ गते संविधान संशोधन प्रस्ताव मतदानका लागि संसदमा पेस गर्ने सरकारको तयारी थियो तर अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १० जना सांसद अनुपस्थित भएपछि प्रस्ताव पेस भएन। त्यतिबेला सरकार प्रस्ताव जसरी पनि पास गराउने पक्षमा थियो भने राष्ट्रिय जनता पार्टी पनि संशोधन पास नभए नमान्ने अडानमा थियो।
संसदको अंकगणित हेर्दा अहिले संशोधन प्रस्ताव पारित हुने सम्भावना झन् झिनो बनेको छ। त्यतिबेला संशोधनको पक्षमा रहेको राप्रपा अहिले सरकारबाहिर छ। विभाजित पनि भएको भएको सो पार्टीका ती १० जना सांसद पनि दुई पार्टीमा विभाजित भएका छन्।
https://www.youtube.com/watch?v=45BtTroRpiI&feature=youtu.be