प्रधानमन्त्री निवास वालुवाटारमा बसेको प्रधानमन्त्रीसहितको उच्चस्तरीय बैठकले नयाँ मेडिकल कलेज सम्बन्धनको विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय लिनेगरी विधेयक अगाडि बढाउने सहमति गरेको छ।
प्रधानमन्त्री निवासमा भएको छलफलमा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल, पूर्व उप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, डा. भगवान कोइराला, डा. अर्जुन कार्की लगायत माथेमा कार्यदलका सदस्य सहभागी थिए।
सो छलफलले सम्बन्धनको जिम्मा आयोगलाई दिने र विधेयकमै माथेमा कार्यदलको नाम उल्लेख गरी सोही अनुसार विधेयक तयार पार्ने सहमति जुटाएको हो।
सोही सहमतिका आधारमा विधेयक तयार पार्न प्रधानमन्त्रीले संसदको महिला बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जु झालाई निर्देशन दिएका छन्। नयाँ प्रस्तावमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सहिमति जनाइसकेका छन्। एमालले सहमति जनाए सोही अनुसार विधेयक पारित हुने बैठकमा सहभागी एक सदस्यले सेतोपाटीलाई बताए।
दिउँसो ३ बजेका लागि बोलाइएको समितिको बैठकमा सभापति झाले एमाले सांसदलाई सम्बन्धनका विषयमा नयाँ बुँदा थप्न प्रस्ताव गर्नेछिन्। एमाले सांसदले सहमति जनाए समितिले विधेयकलाई आजै टुंगो लगाउनेछ।