अमेरिकी कम्पनीसँग किन्न लागिएको जहाजको भुक्तानी पोर्चुगलको कम्पनीलाई!

अमेरिकी कम्पनीसँग किन्न लागिएको जहाजको भुक्तानी पोर्चुगलको कम्पनीलाई!

जहाज खरीद प्रक्रियाका कागजात पाँच दिनभित्र पेश गर्न निर्देशन




अमेरिकी कम्पनीसँग खरीद गर्न लागिएको जहाजको भुक्तानी पोर्चुगलको कम्पनीमार्फत भएको छ ।

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा यस विषयमा छलफल भएपछि जहाज खरीद गर्ने सम्बन्धमा गरेका निर्णय र खरीद प्रक्रियाका कागजात पाँच दिनभित्र पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिइएको छ ।

समितिको बुधबारको बैठकले यसअघि पनि जहाज खरीद प्रक्रियाका कागजात मागिएकामा निगमले पेश नगरेको भन्दै पाँच दिनको अवधि तोकेर पुनः कागजात माग गरिएको सभापति डोरप्रसाद उपाध्यायले बताए ।   उनले भने– ‘निगमले अमेरिकाको एआर कम्पनीसँग ‘वाइड बडी एयर बस’ खरीदका लागि पोर्चुगलको हाई फ्लाई कम्पनीलाई आठ अर्ब रुपैयाँ भुक्तानी दिएको थियो । एउटा कम्पनीसँग विमान किन्ने सम्झौता गरेर अर्कै कम्पनीमार्फत पैसा पठाइएको पाइएकाले कागजात पेश गर्न निर्देशन दिइएको हो ।’

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले सांसदहरूले उठाएका विषयलाई आफूले विस्तृत रुपमा अध्ययन गरी खरीद प्रक्रियाका बारेमा भएगरेका निर्णय बुझ्ने जानकारी गराए ।

सांसदहरू उषा गुरुङ, भरतकुमार साह, धनराज गुरुङ, रामहरि खतिवडा, ममता गिरी, आनन्दप्रसाद पोखरेल लगायतले जहाज खरीद प्रक्रियाका बारेमा आएका तथ्यको थप अध्ययनका लागि खरीद प्रक्रियाको कागजात मगाउनुपर्ने बताएका थिए ।  निगम सञ्चालक समितिको अध्यक्षसमेत रहेका मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले आवश्यकताका आधारमा प्रक्रिया पूरा गरी जहाज खरीद गर्न लागिएको बताए। निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जहाज खरीद गर्न सञ्चालक समितिले गरेको निर्णय ठीक रहेको दाबी गरे । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.