संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्र देवले भैरहवास्थित लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शुरू नै नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार काठमाडौं आयोजित साक्षात्कारमा उनले राष्ट्रिय गौरवका ठूला आयोजनामध्येका लुम्बिनी र निजगढ विमानस्थलको निर्माण कार्य शून्य अवस्थामा नै रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘मन्त्रालयअन्तर्गतका ठूला परियोजनाका बारेमा जानकारी लिइरहेको छु, पोखरा विमानस्थलको काम मात्रै सन्तोषजनक रुपमा अघि बढेको छ, चार वर्षमा निर्माण कार्य सकिन्छ, बाँकी दुई विमानस्थलको पनि अब निर्माण कार्य शुुरू हुन्छ ।’
उनले मन्त्रालय मातहतका विभाग र महाशाखालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सहकार्य गरी भूकम्पबाट प्रभावित र क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदासहित अन्य सम्पदालाई पुनर्निर्माणमा अघि बढाउन निर्देशन दिएको बताए ।
सो अवसरमा मन्त्री देवले वसन्तपुरको नौ तले दरबार निर्माण गर्न जिम्मा पाएको चिनियाँ सरकारको भ्वाइस प्रिमियर टोली डेलिगेशनका लागि यही साउन ३० गते नेपाल आउन लागेको जानकारी दिए । रासस