नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तीन वटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
नेकपा (एमाले) भद्रपुर नगर कमिटीले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन तोकिएकै समयमै हुनुपर्ने बताएका हुन्।
अध्यक्ष ओलीले ‘एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ’, उनले भने, ‘नभए पनि माघभित्र निर्वाचन सरकारले गर्नेपर्छ।’
तोकिएको समयमा निर्वाचन हुन सकेन भने ०६२/०६३ को जनआन्दोदन पछिका प्राप्त उपलब्धी सवै गुमेर मुलुक राजनीतिक र संवैधानिक संकटमा फस्ने उहाँले चेतावनी दिए।
स्थानीय तह अन्तर्गतको पहिलो र दोस्रो चरणको निर्वाचनमा जनसहभागिता असाधारण भएको चर्चा गर्दै अध्यक्ष ओलीले राजनीतिक अभियानमा जनताको उत्साहजनक सहभागिता स्थानीय तहको निर्वाचनले देखाएको बताए।