जिल्ला समन्वय समिति बैतडीको प्रमुखमा नेपाली काँग्रेसका सिद्धराज भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
प्रमुख पदका लागि काँग्रेसकै सिद्धराज भट्ट र गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको थियो । तर एउटै पार्टीबाट दुईजना उम्मेदवार बन्न नपाउने भएकाले चन्दको उममेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जानकारी दिए । यसैगरी दलित तथा अल्पसंख्यक सदस्यमा काँग्रेसकै टेक लुहार पनि निर्विरोध निर्वाचित भएका छन् । ती पदका लागि कसैले उम्मेदवारी नदिदाँ उनी निर्विरोध निर्वाचित भएका हुन् ।
नौ सदस्यीय जिल्ला समन्वय समितिमा उपप्रमुख तथा तीन खुला र तीन महिला सदस्यका लागि साउन २९ गते निर्वाचन हुँदैछ । सो निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेको छ । एमालेले पनि केहि पदमा उम्मेदवारी दर्ता गराएको छ ।
उपप्रमुख पदका लागि नेकपा माओवादी केन्द्रबाट धनबहादुर बोहरा र एमालेबाट लक्ष्मणदत्त भट्टको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै तीनजना खुला सदस्यमा काँंग्रेसबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कुल २० मतमध्ये कांग्रेस र माओवादी केन्द्र गठबन्धनको १२ र एमालेसँग ८ मत रहेको बताइएको छ । रासस