सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भएका घटनाको विदेशमा सही सूचना प्रवाह हुन सकोस् भन्ने हेतुले सरकारले विश्वका महत्वपूर्ण देश र शहरमा सूचना केन्द्र स्थापना गर्न गृहकार्य गरिरहेको बताएका छन् ।
मङ्गलबार राजधानीमा अायोजित एक कार्यक्रममा उनले भने – ‘विभिन्न कामका सिलसिलामा त्यस्ता मुलुक वा सहरमा बस्दै आएका व्यक्तिलाई हाम्रो मुलुकको सही सूचना सम्प्रेषण गराउन तथा त्यहाँबाट पनि सही सूचना प्राप्त गर्न अवैतनिक सूचनादूत राख्ने व्यवस्थाका लागि गृहकार्य भइरहेको छ ।’
भूकम्पबाट अतिप्रभावित ११ तथा बाढीपहिरो प्रभावित आठ जिल्ला लगायत दुर्गम क्षेत्रका स्वास्थ्य केन्द्र र शैक्षिक संस्थामा तत्काल निःशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै सञ्चारमन्त्री बस्नेतले काठमाडौँ उपत्यकाको पुरानो सरकारी र समावेशिताको नमूनाका रुपमा रहेको पद्मकन्या कलेजमा दुई वर्षका लागि निःशुल्क रुपमा वाइफाइ सेवा अब तुरुन्त सुरुआत हुने जानकारी दिए ।
‘बाजुरा र डोल्पामा मात्रै होइन, नजिकैका जिल्लाका समेत नपुगेका स्थानमा अब निकै चाँडै टेलिफोन सुविधा पुर्याइने छ’, उनले भने एक प्रसंगमा मन्त्री बस्नेतले भने, ‘सूचना तथा सञ्चारको क्षेत्र निकै फराकिलो छ, सूचना प्रविधिको पाटोबाट मुलुकले छलाङ मार्नुपर्ने बेलामा हामी बल्ल बामे सर्दैछौँ ।’
रोजगारीको अभावमा प्रतिभा पलायन हुने क्रम पछिल्लो समय बढ्दै गएकाले त्यसलाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने पूर्वाधार निर्माण र उद्योग स्थापनालाई प्रवर्द्धन गर्ने नीति अपनाइने बताउँदै मन्त्री बस्नेतले छाउपडीजस्ता ‘कु’ संस्कारलाई न्यूनीकरण गर्न सचेतना अभियानलाई तीव्र तुल्याइने छ भने । रासस