प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गर्न आयोग तयार


प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव एकैपटक गर्न निर्वाचन आयोग तयार हुने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै निर्वाचन एकसाथ गर्ने बताएपछि प्रमुख आयुक्त अयोधिप्रसाद यादवले एकैपटक निर्वाचन गर्न संवैधानिक अड्चन हुने प्रतिक्रिया दिएका थिए। एकैपटक दुवै निर्वाचन गराउन नसकिने उनको भनाइ थियो। तर, साढे पाँच महिनाभन्दा कम समयमा दुई वटा निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण आयोग दुवै निर्वाचन एकैपटक गराउन तयार भएको हो ।

प्रमुख आयुक्त यादवले यस विषयमा अझै आयोगभित्र छलफल भइरहेको प्रतिकृया दिएका छन्। निर्वाचन आयुक्त इला शर्माले पनि एकैपटक दुवै निर्वाचन गर्नुपर्ने विषयमा छलफल भइरहेको बताईन्। मौसमका कारण मंसिर पहिलो सातासम्ममा प्रतिनिधि सभाको निर्वाचन सक्नु पर्ने भएकाले अब दुई चरणको निर्वाचन गर्न कठीन रहेको उनले बताईन्।

‘अब हामीसँग तीन महिना समय छ,’ उनले भनिन्, ‘यसबीचमा झन्डै एकमहिना त चाडपर्वमा जान्छ। यसरी करिब दुई महिना समय हामीसँग छ। निर्वाचनका लागि यो अत्यन्तै छोटो समय हो।’ यसैकारण सरकारलाई चाँडै मिति तोक्न आयोगले आग्रह गरेको उनले जानकारी दिईन्।

हिजो प्रधामनमन्त्रीसँग भएको भेटमा आयोगका पदाधिकारीले भदौ १ गतेभित्र मिति तोक्न आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले सहमति जनाउँदै आयोगको आग्रहअनुसार दुवै चुनावको मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए। छोटो समय भएकाले एकै चरणमा चुनाव गराउन उपयुक्त हुने आयुक्त शर्माले बताईन्।

दुई तहको निर्वाचन एकैपटक गर्न संवैधानिक अड्चन नरहेको उनको धारणा छ। ‘पहिले प्रदेशको र त्यसपछि संघीय प्रतिनिधि सभाको निर्वाचन गर्ने भन्ने व्यवस्था संविधानमा छ,’ उनले भनिन्, ‘तर एकैपटक गर्नलाई बाधा पुर्याउने व्यवस्था छैन।’

तर, यसबारे आयोगमा कुनै औपचारिक निर्णय नभएको उनले बताईन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.