कमल थापाले भुइँको टिप्न खोज्दा पोल्टाको गुमाए


दोस्रो संविधान सभाबाट कमल थापाले नेतृत्व गरेको राप्रपा-नेपालले ठूलो फड्को मारेको थियो।

पहिलो संविधानसभामा जम्मा ४ सिटमा सिमित पूर्वपञ्चहरूको कान्छो पार्टीले दोस्रो संविधान सभाको चुनावमा २५ सिटमा जित हाँशिल गरेको थियो।

प्रत्यक्ष तर्फ एउटा सिट पनि नजितेको राप्रपा नेपालले समानुपातिकमा करिब सात प्रतिशत मत ल्याएसँगै राप्रपा नेपाल दोस्रो संविधानसभाको चौथो ठूलो दल बनेको थियो।

राजा ज्ञानेन्द्रको शासनकालको अन्तिम तिर उनको मुख्य सारथी बनेका कमल थापाका लागि लोकतान्त्रिककालमा यो ठूलो राजनीतिक ‘कमब्याक’ थियो। गणतन्त्र र धर्मनिरपेक्षतावादीको बहुमत रहेको संविधानसभामा संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पक्षमा उभिएका थापाको पार्टी एक अर्थमा संविधानसभाको प्रमुख प्रतिपक्षी पार्टी थियो। मुख्य गरेर हिन्दु धर्मको मुद्दा उठाएर उनले दोस्रो संविधान सभामा आफ्नो पार्टीको मत बढाएका थिए।

पुराना पूर्वपञ्चहरुको अर्को पार्टी राप्रपाले भने दोस्रो संविधानसभामा प्रत्यक्ष तर्फ तीन र समानुपातिक तर्फ ९ सिट गरी १२ सिट मात्र जितेको थियो। कमल थापासँग हिन्दु धर्मको एजेण्डा थियो भने पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपा एजेण्डाबिहिन जस्तै बन्न थालेको थियो। राणाको नेतृत्वमा रहेको राप्रपाले पनि हिन्दु धर्मको एजेण्डा बोक्न थाले पछि दुबै पार्टीबीच एकता सहज भएको थियो।

एकता भएमा आउने चुनावमा एकीकृत पार्टीले राम्रो गर्न सक्ने अपेक्षा साथ दुबै पार्टी गत मंसिरमा एक भएका थिए। फागुनमा एकता महाधिवेशन नयाँ नेतृत्व चयन गरेका थिए। दुबै पार्टी एक भएपछि कतिपय मानिसहरुले राप्रपा संसदको अर्को चुनावमा माओवादी केन्द्रलाई पछि पार्दै तेस्रो ठूलो पार्टी बन्नेछ भन्ने अनुमान समेत गरेका थिए।

यो पार्टी एकीकरणबाट सबैभन्दा ठूलो फाइदा कमल थापालाईनै भएको थियो। आफूभन्दा धेरै सिनियर पञ्चहरू आफ्नो नेतृत्वमा राप्रपाको झण्डा मुनी गोलबद्द भएका थिए। पार्टी ठूलो भएसँगै राष्ट्रिय राजनीतिमा उनको शाख र भूमिका बढेको थियो। एमाले नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री बनेका थापा पुष्पकमल दाहालको सरकारमा फेरि उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री बने। संविधान संशोधनका लागि राप्रपाको सहयोग अनिवार्य भएपछि दाहालले राप्रपालाई सरकारमा लगेका थिए।

यसरी आफ्नो र पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा बढिरहेको बेला राप्रपामा देखिएको पछिल्लो विभाजनले सबैभन्दा ठूलो मार थापालाई पर्ने देखिएको छ।

यहाँसम्मकि, उनी आफैंले मनोनित गरेर निर्वाचित गराएका राप्रपा नेपालका समानुपातिक तर्फका कम्तिमा दश सांसदलाई राणा पक्षले लिएर गएको छ।

पूर्वराप्रपा नेपालबाट समानुपातिक तर्फ निर्वाचित राम कुमार सुब्बा, बविना लावती, बिराज बिष्ट, रेशम लामा, सीता लुईँटेल, कमल शर्मा, लिला श्रेष्ठ, संयन्द्र बान्तावा, भानु महरा र राजेश्वरी सिहंको नाम अन्य १२ सासंदसहित राणापक्षले निर्वाचन आयोगमा बुझाएको छ।

त्यसमध्ये सुब्बा, सिंह र श्रेष्ठबाहेक अरू चार जना हिजै निर्वाचन आयोगमा उपस्थित भई दस्तखत सनाखत गरेका छन्। यी तीन सासंद उपत्यका बाहिर रहेकाले उनीहरू पछि आयोगमा उपस्थित हुने जनाईएको छ।

राणा पक्षले थापाका थप दुई सांसद पनि आफूहरू तिर आउने दावी गरेको छ।

आयोगमा नाम बुझाएका १० जनाले मात्र पनि थापाको साथ छोडे भने त्यो उनका लागि यो ठूलो धक्का हुनेछ।

एकीकरणअघि २५ सांसदसहित संसदको चौथो ठूलो दल राप्रपा नेपालको अध्यक्ष रहेका थापाको पार्टी यो विभाजनसँगै संसदमा आठौं स्थानमा झर्नेछ।

भर्खरै मधेसका ६ पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीका अहिले संसदमा २४ सांसद छन्। त्यस्तै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालका १७ र संघीय समाजवादी फोरम नेपालको १५ सांसद छन्।

फुटेर नयाँ बनेको राप्रपा (प्रजातान्त्रीक)ले आफूहरूसँग २२ जना सांसद रहेको दाबी गरेको छ।

त्यस हिसाबले थापासँग जम्मा १५ सांसद मात्र रहने छन्, र राप्रपा संसदमा आठौं दलमा झर्नेछ।

ठूलो दल बनाउने र आगामी चुनावमा राम्रो नतिजा ल्याउने आकांक्षाका साथ कमल थापाले पार्टी एकता गरेका थिए। तर उनलाई अहिले आएर भुँईको टिप्न खोज्दा पोल्टाको झरेजस्तो भएको छ।

राप्रपा नेपाल छुट्टै पार्टी रहिरहेको भए सो पार्टीको संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याएर कसैले पार्टी फुटाउन लगभग असम्भव थियो। थापाको नेतृत्व राप्रपामा चुनौतिबिहिन थियो।

यो फुट पछि राप्रपालाई बढाएर पहिलेको राप्रपा नेपाल जत्रो बनाउन थापाका सामु चुनौतीको पहाड खडा हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.